काठमाडौँ । कोरोना संक्रमण नियन्त्रणका लागि देशभर तयार गरिएका क्वारेन्टिनहरुमाथि मापदण्डको प्रश्न उठिरहेका बेला अनुगमनको जिम्मेवारी दिइएका शहरी विकासराज्यमन्त्री रामबीर मानन्धरले क्वारेन्टिनको व्यवस्थापन आफै गर्न जनतासँग आग्रह गर्नुभएको छ । सरकारको मुख ताकेर बस्दा संक्रमण फैलने क्रम बढेर जाने उहाँको भनाई छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासंग कुरागर्दै उहाँले आफुले पाएको जिम्मेवारी अनुसार धेरै ठाँउमा अनुगमन गर्दा कतै सामान्य र कतै असामान्य अवस्थामा क्वारेन्टिनहरु बनाइएको पाइएकाले आफुले सरकारलाई सुधारका लागि प्रतिवेदन दिएको जानकारी दिनुभयो ।
उहाँले अहिले बनाइएका क्वारेन्टिनमात्रै कोरोना रोकथामका लागि उपयुक्त र पर्याप्त नभएकाले यो व्यवस्थापन छुट्टै तरिकाले गर्न आवश्यक देखिएको बताउनुभयो । मानन्धरले क्वारेन्टिन अनुगमन गर्ने आफ्नो जिम्मेवारी भएपनि व्यवस्थापनमा आफ्नो भूमिका नभएको बताउनुभयो ।
अनुगमनका क्रममा भेटिएका कमिकम्जोरी र सुधारका विषयमा सम्बन्धी निकायमा प्रतिवेदननै बनाएर दिएकाले यसको कार्यन्वयन हुनपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले अब सवैले होम क्वारेन्टिनमा ध्यान दिनुपर्नेमा पनि जोड दिनुभएको छ ।
राज्यमन्त्री मानन्धरले अहिले बनाइएको अव्यवस्थित क्वारेन्टिनहरुलाई विस्थापित गर्दै होम क्वारेन्टिनमा जोड दिनुपर्ने र सक्नेहरु सवैले व्यवस्थित होटल तथा लजहरुको प्रयोग गर्नुपर्ने बताउनुभयो । सरकारले सवैकाम गर्छ भनेर कुर्दा संक्रमण बढ्ने खतरा रहेको भन्दै सरकारको मुख नताकि जनताले नै आफ्नो क्षमता अनुसारको घरदेखि होटलसम्मको व्यवस्थापन आफैले गर्दा नियन्त्रणमा सहजता आउने धारण उहाँले राख्नुभयो ।