Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रतिष्ठानको गरिमा बढाउन कलाकारले त्याग गर्नैपर्छ : रमेश बिजी (अन्तर्वार्तासहित)

प्रतिष्ठानको गरिमा बढाउन कलाकारले त्याग गर्नैपर्छ : रमेश बिजी (अन्तर्वार्तासहित)

  • मंगलवार, फाल्गुण २ २०७९

  • 573
    SHARES

  • प्रतिष्ठानको गरिमा बढाउन कलाकारले त्याग गर्नैपर्छ : रमेश बिजी (अन्तर्वार्तासहित)

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आठौँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तीब्र पारिएको छ । सातै प्रदेश, जिल्ला, उपत्यका समन्वय समिति र विदेश विभागको अधिवेशनलाई सौहार्दपूर्ण तरिकाले सम्पन्न गरेको प्रतिष्ठान अहिले आठौँ राष्ट्रिय महाधिवेशन केन्द्रीत बनेको छ ।

    फागुन १२, १३ र १४ गते धादिङबेशीमा हुने महाधिवेशनका लागि देशैभरबाट कलाकार र शुभेच्छुकहरुको उपस्थिति रहने प्रतिष्ठानले जनाएको छ । मुलुकको लोक, संस्कृति बचाउ अभियानमा लागेका प्रतिभाहरुको छाता संगठनले आगामी दिनमा देशैभरका जिल्लामा क्रमशः महाधिवेशन गर्दै जाने लक्ष्य लिएको छ । गीत, संगीत र स्रष्टाहरुलाई व्यवस्थित र मर्यादित बनाउन लागेको प्रतिष्ठानले काठमाडौंमा आफ्नो भवन निर्माण सम्पन्न गरिसकेको छ ।

    अहिलेसम्म वरियता र रोलक्रम अनुसार नेतृत्वदायी भूमिका प्रदान गर्दै आएको संस्थामा केही समस्या समेत सिर्जना भएका छन् । पछिल्लो समय हरेक क्षेत्रमा राजनीतिक प्रभाव झाँगिदै गएकोले केही असहज हुन थालेको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीको बुझाइ छ । आगामी नेतृत्वका लागि रिता थापाले आफ्नो दाबी प्रस्तुत गरिसकेको र रोलक्रममा पनि उनीनै अगाडि रहेको बिजीको भनाइ छ ।

    सिमित खर्चमा महाधिवेशनलाई व्यवस्थित बनाउनका निम्ति सबै कलाकारहरु लागि परेको उहाँले बताउनुभयो । नेपाली रेडियो नेटवर्कको प्रश्नमा बिजीले भने, ‘हामीसँग सिमित स्रोत साधन छ, तडकभडक गर्ने पक्षमा छैनौ, सबै एकै ठाउँमा भेला भएर मीठो मसिनो बाँड्दै महाधिवेशन सम्पन्न गर्ने पक्षमा छौँ । आवश्यक तयारी भइरहेको छ, कार्यक्रमको पूर्वसन्ध्यामा छाँया कार्यक्रमको पनि आयोजना गरिनेछ ।’

    बिजीका अनुसार कलाकारितामा आएका केही नकारात्मक पक्षलाई हतोत्साहित गर्न प्रतिष्ठानले काम गरिरहेको छ । पूर्ण अधिकार सम्पन्न नभएकोले कारबाही पक्रिया अगाडि बढाउन नसकेपनि कला, संस्कृतिको धज्जी उडाउँदै सस्तो लोकप्रियतामा बिक्नेहरुलाई प्रतिष्ठानले निगरानी गरिरहेको उनको भनाइ छ ।

    विशुद्ध गीत, संगीतको संरक्षणमा जुटेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई सरकारले अपेक्षित सहयोग नगरेकोप्रति बिजीको गुनासो रहेको छ । हरेक क्षेत्रको अभिभावक राज्य, सरकार भएकोले प्रतिष्ठानलाई अधिकार सम्पन्न बनाउन र हरेक कलाकारले अपनत्व ग्रहण गर्ने गरी यसको विकासमा लाग्न राज्यले ध्यान दिनुपर्ने उनको माग छ ।

    कलाकारहरु पनि खुलेयाम राजनीतिमा लाग्ने गरेकोप्रति बिजीको आपत्ति छ । राजनीतिक नेतृत्वले प्रयोग मात्रै गरेको नबुझ्ने कलाकारका कारण सिंगो प्रतिष्ठानलाई असर गरिरहेको उनको भनाइ छ । आफ्नो स्वतन्त्रता र अधिकारलाई सुरक्षित गर्दै प्रतिष्ठान र कला क्षेत्रको इज्जत, प्रतिष्ठालाई जोगाउन सबै लाग्नुपर्नेमा बिजीको जोड छ ।

    भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला :–

     


    मंगलवार, फाल्गुण २ २०७९०२:५६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij