काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले ‘जनयुद्ध दिवस’मा सरकारले दिएको सार्वजनिक बिदाको स्वागत गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता गुरुङले अहिले नेपालमा भएका सम्पूर्ण परिवर्तनहरूको मूल आधार १० बर्षे जनयुद्ध नै भएकाले सरकारले सकारात्मक निर्णय गरेको दाबी गर्नुभएको छ ।
हिजोको मन्त्रिपरिषद् बैठकमा जनयुद्ध दिवसमा बिदा दिने तयारी भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरू सहभागी भएका थिएनन् । राप्रपाले माओवादीले हिंसात्मक गतिविधिलाई संस्थागत गर्न खोजेको भन्दै विरोध गरेको छ । तर महासचिव गुरुङले भने जनयुद्धप्रति हेर्ने सबैका फरक धारणा भएपनि संविधान निर्माण भइसकेको अवस्थामा फरक मतका साथ पनि यसलाई स्वीकार गर्नुको विकल्प नभएको दाबी गर्नुभयो ।
फरक प्रसंगमा उहाँले वर्तमान सत्ता गठबन्धनमा सहमति र सहकार्यमै अगाडि बढ्ने बताउनुभयो । उहाँले राष्ट्रपतिको पद संविधानको संरक्षण का साथै राष्ट्रिय एकताको प्रतीकको रुपमा स्थापित भएकाले सबै दलले समर्थन गर्ने हुनुपर्ने बताउनुभयो । उहाँले सहमति नभएको अवस्थामा सांसदले स्वविवेक प्रयोग गर्ने बताउनुभयो ।