काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले रवि लामिछाने सांसद पद खारेज भए पनि चितवन–२ मा उपनिर्वाचन गर्न आवश्यक नभएको बताउनुभएको छ ।
सो क्षेत्रबाट ४९ हजार २६४ मत ल्याएर निर्वाचित भएका लामिछाने पदमुक्त भएपछि दोस्रो धेरै मत ल्याउने आफूलाई निर्वाचित घोषणा गर्न उहाँले माग गर्नुभएको छ ।
४ मंसिरको चुनावमा श्रेष्ठले चिवतन–२ बाट १४ हजार ९८३ मत प्राप्त गर्नुभएको थियो। आइतबार पत्रकार सम्मेलन गरी उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको उम्मेदवारी नै अवैध भएकाले आफू स्वतः निर्वाचित भएको दावी गर्नुभयो ।
श्रेष्ठले आफूलाई स्वतः निर्वाचित गर्न माग गर्दै आइतबार निर्वाचन आयोगमा निवेदन पेश गर्नुभएको छ । आयोगले आफ्नो पक्षमा निर्णय नलिए सर्वोच्च अदालतमा जाने उहाँको भनाइ छ । कानुन व्यवसायीहरुको राय अनुसार अघि बढेको श्रेष्ठको भनाइ छ ।
संविधानले व्यवस्था गरेको प्रावधान भन्दा पृथक अवस्था रहेकाले नयाँ नजिर स्थापना हुनुपर्ने श्रेष्ठको जिकिर छ ।