काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक निकायमा पदपूर्ति हुन नसकेको आरोप लगाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुपर्ने कामलाई आफ्नो प्राथमिकतामा नराखेर गर्न नहुने काममा क्रियाशिलता बढाएको आरोप कांग्रेसको छ ।
लामो समयसम्म रिक्त रहेको संवैधानिक आयोगका पदहरु पूर्तिका लागि ध्यानदिन नसक्नु सरकार र प्रधानमन्त्रीको कमजोरी भएकाले यसको अपजस प्रतिपक्षलाई दिन नहुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभएको छ ।
राम्रा कामहरुको जस सरकारले लिन खोज्नु स्वभाविक भए पनि काममा ढिलासुस्ती, गर्न नसकेका–नगरेका कामहरुमा प्रतिपक्षीलाई दोषी देखाउने प्रवृति प्रधानमन्त्री ओलीमा रहेको प्रवक्ता शर्माको भनाइ छ ।
संवैधानिक परिषदको व्यवस्थाअनुसार राज्यका महत्वपूर्ण अंगहरुमा नेतृत्व चयन गर्दा सबैको साझा स्वामित्व हुनुपर्छ भन्ने धारणा कांग्रेसको भए पनि आफूहरुले पदका लागि कुनै बार्गेनिङ नगरेको उहाँले प्रष्ट पार्नुभएको छ ।
यसैबीच, कांग्रेसकी छाया श्रममन्त्री डा. डिला संग्रौलाले कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई दशैंअघि नै स्वदेश फर्काउन सरकारसँग माग गर्नुभएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै संग्रौलाले विदेशमा समस्यामा परेका नेपालीहरुलाई निःशुल्क स्वदेश फर्काउन माग गर्नुभएको हो ।
उहाँले सर्वोच्चको आदेशपछि पनि सरकारले निःशुल्क उद्धार उडान सुरु नगरेको भन्दै खेद व्यक्त गर्नुभएको छ ।