काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुनै हालतमा शान्तिवार्ता नगर्ने बिहीबार बताएका छन् ।
स्काई न्युजसँग कुरा गर्दै जेलेन्स्कीले भने, ‘उनीहरू कुनै वार्ता चाहँदैनन् र आक्रमणअघि पनि त्यही सत्य थियो । पुटिनलाई शान्ति चाहिएकै छैन त्यसैले उनी सम्झौताको पक्षमा छैनन् ।’
‘युक्रेन उनका लागि पहिलो कदम मात्र हो । उनी ठुलो युद्ध गरिरहेका छन् भन्नेमा म विश्वस्त छु । हामी ऐक्यबद्ध नभएमा युक्रेनपछि अर्को कदम पनि चालिनेछ । हामीले सहयोग पाइरहेका छौँ र जित्नेछौँ,’ उनले थपे ।
बेलायत, अमेरिका र जर्मनीले युक्रेनलाई ट्याङ्क दिने प्रतिज्ञा गरेका छन् । तर ती ट्याङ्कहरू ढिलो गरी मात्र आइपुग्नेछन् ।
नेटो सदस्य फ्रान्सले आफ्ना लडाकु विमान युक्रेनलाई दिन सकिने सङ्केत दिएको छ । तर फ्रान्सले भारी हतियार युक्रेनलाई उपलब्ध गराउन अनकनाइरहेको स्थिति छ ।