काठमाडौं । प्रदेश १ प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गतेका लागि बोलाइएको छ । पुस ३० गते उपसभामुखको निर्वाचनपछि सभामुख बाबुराम गौतमले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले छैटौं बैठक २३ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बताउनुभयो। प्रदेशसभाको सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र उपसभामुखमा उदयपुरकी सिर्जना दनुवार निर्वाचित भइसक्नुभएको छ । प्रदेशसभाले विषयगत समितिको टुंगो लगाउन बाँकी छ ।
पुस २५ गते हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । सरकार गठनको दुई सातापछि उहाँले सात सदस्यीय मन्त्रिपरिषद्को कार्य विभाजन गर्नुभएको थियो।
प्रदेश सरकारका प्रवक्ता तथा उद्योग कृषि तथा सहरी मन्त्री भक्ति सिटौलाले संसद् बैठकका विषयको जानकारी आएपछि सरकारले संसद्लाई विजनेश उपलब्ध गराउने बताउनुभयो ।