काठमाडौं । सुनको मूल्य ११ महिनापछि हालसम्मकै उच्च बिन्दुमा पुगेपछि सुनको कारोबार प्रभवित भएको छ ।
मूल्य बढेका कारण नयाँ गहनाको बिक्री ठप्प जस्तै रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबारको मूल्यले सुनको कारोबार ठप्प जस्तै भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो । अति आवश्यक परेका सानो समूहबाहेकले सुन खरिद नगरेको उहाँले बताउनुभयो ।
अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदा सुनमा हुने लगानी बढ्दा मूल्य बढेको महासचिव बज्राचार्यको भनाइ छ । अहिले सरकारले दैनिक १० किलो सुन आयातको कोटा तोकेको छ ।
नेपालभर रहेका करिब ८ हजार सुन पसलले दैनिक २० किलो हाराहारी सुन खपत गर्ने महासंघको भनाइ छ । यसअघि २५ फागुन २०७८ मा सुनको मूल्य हालसम्मकै उच्च बिन्दु एक लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।