काठमाडौं । आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसकेको नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई विश्वासको मत दिएर अहिले न सत्तापक्ष न प्रतिपक्षीको भूमिकामा छ । संवैधानिक अंगका केहि महत्वपुर्ण पदमा दाबी गर्ने दाउमा रहेको कांग्रेस फेरि माओवादी केन्द्रसँग सम्बन्ध सुधार गरेर अगाडि बढ्ने प्रयास गरिरहेको छ । त्यसका लागि उसले अन्य दलसँग छलफल पनि अगाडि बढाएको छ ।
सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुसँग छलफल गरी सभामुखको निर्वाचनमा बहुमत जुटाउन अन्य दलसँग छलफल र सहकार्यको प्रयास गरिरहनु भएको छ । नेताहरुका अनुसार देउवाले त्यसका लागि नेता रामचन्द्र पौडेललाई सक्रिय बनाउनुभएको हो । आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता पौडेलबीच भेटवार्ता पनि भएको छ । कांगे्रसले राष्ट्रपति र सभामुखका लागि दाबी गरेको हो भन्ने प्रश्नमा कांगे्रस नेता कुन्दन काफ्ले त्यो आँकलनको कुरा मात्र भएको र अहिले कांग्रेस सत्ताको जोडघटाउमा नलाग्ने दाबी गर्नुहुन्छ ।
कांग्रेसले सरकारलाई समर्थन गर्नुको कुनै स्वार्थ नभई ओलीले देशलाई पुनः प्रतिगमनतर्फ धकेल्न सक्ने देखिएकाले माओवादी अध्यक्ष प्रचण्डलाई विश्वासको मत दिएको तर्क गर्दै आईरहेको छ । सरकारको कामकारवाही सम्बन्धमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने कांग्रेस सत्तापक्षको गोटी बन्न पुगेपछि राजनीतिक, संवैधानिक र कानुनका जानकारहरूले गम्भीर प्रश्न उठाईएरहेका छन् । प्रधानमन्त्रीलाई विपक्षीले विश्वासको मत दिनुको उचित तर्क कांग्रेस नेतृत्वले अहिलेसम्म पनि दिन सकेको छैन ।
पौष २६ गते नेपाली कांग्रेसले सरकारलाई समर्थन गरेको हो । सोहि दिन प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको समर्थन सदासयताबाहेक अरू उद्देश्यले भएको हो भने त्यो सफल नहुने चेतावनी दिनुभएको थियो ।
आज सोही कुरा नेकपा एमालेका सचिव रघुवीर महासेठले पनि दोहोर्याउनु भएको छ । यदि कांग्रेसले राष्ट्रपति र सभामुख पद माग्छ भने अब कांग्रेस सिद्दिने बाटोमा पुगेको महासेठको दाबी छ ।
कांग्रेसले भित्रीे रणनिती बनाइरहदा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा नेपाली कांग्रेससँग पनि छलफल हुने बताउनुभएको छ । आज बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उहाँले सोमबार राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा छलफल गर्न प्रतिनिधिसभामा रहेका राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाइएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिएपछि राष्ट्रपति, सभामुखलगायतका पदमा के गर्ने भनेर ऊसँग पनि छलफल गर्नुपर्ने आफ्नो दायित्व भएको पनि बताउनुभएको छ । नेपालको राजनितीमा असम्भव केहि हुदैन भन्ने कुरा दल र नेताहरुले बारम्बार देखाएका छन् । त्यसैले भोलिको अवस्थामा कुन पद कस्को पोल्टामा जाने हो त्यो समयक्रमले नै बताउला । तर कांग्रेसले पदका लागि लोभ गर्नु पटक्कै शोभनिय भने देखिएको छैन ।