काठमाडौं । नेपाली कांग्रेसले ५ र ७ माघमा हुने सभामुख तथा उपसभामुखको निर्वाचन बारेमा अन्य दलहरूसँग छलफल गर्ने भएको छ।
बिहीबार(आज) बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले सत्तामा रहेका र नरहेका सबै दलहरूसँग पहिला सभामुख र उपसभामुख निर्वाचनका बारेमा छलफल गर्ने र त्यसपछि मात्रै कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउने निर्णय गरेको कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले बताउनुभयो।
पाण्डेले संसद्मा कांग्रेसले एक्लै सभामुख÷उपसभामुख जित्ने अवस्था नरहेकोले अन्य दलहरूसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभयो।
बैठकमा सभामुख/उपसभामुख निर्वाचनसँगै स्ववियु निर्वाचनका बारेमा पनि छलफल भएको पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार त्रिवि स्ववियु निर्वाचन गराउने गरी अघि बढेकाले कांग्रेसले चाँडै नै नेविसंघलाई पूर्णता दिँदै कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको छ।
गत मंगलबार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि नेपाली कांग्रेसले सभामुख र राष्ट्रपतिमध्ये एक पद लिने विषयमा माओवादीसँग आन्तरिक छलफल गरेको बताइएको छ। यद्यपि, त्यसबारेमा कांग्रेस र माओवादी दुवैले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया जनाएका छैनन् ।
तर, माघको पहिलो हप्ता हुन लागेको सभामुख र उपसभामुख निर्वाचन र त्यसपछि हुने राष्ट्रपति निर्वाचनलाई लिएर कांग्रेसले अपनाउने रणनीतिबारे बारेमा सबैको चासो देखिएको छ।
कांग्रेस सहमहामन्त्री पाण्डेले राष्ट्रपति निर्वाचन अलि पछि हुने भएकाले कांग्रेसले सभामुख र उपसभामुख निर्वाचनकै बारेमा पहिला सबै दलहरूसँग एक चरण छलफल गर्ने निष्कर्ष निकालेको बताउनुभयो।