काठमाडौं । सर्वोच्च अदालतको २०७६ साल मंसिर २७ गतेको संवैधानिक इजलासले इम्बोस्ड नम्बर जडान गर्दा अंग्रेजी नम्बर नै प्रयोग गर्नुपर्ने आदेश सुनाएकोमा अहिले पुनः विवाद बल्झिएको छ ।
अहिले वरिष्ठ अधिवक्ता शुशीलकुमार पन्त, शम्भु थापालगायत अधिवक्ताहरुले इम्बोस्ड नम्बरमा नेपाली अक्षर नै प्रयोग गर्नुपर्ने भन्दै रिट दिएपछि विवाद बल्झिएको हो । सोही विवादमा छलफल गर्नका लागि २०७९ साल ९ महिना १९ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । लामो समयदेखि इम्बोस्ड नम्बर प्रयोगमा ल्याउनुपर्ने माग उठेपनि पटकपटक केही विवाद शुरु हुँदै गएको छ ।
यातायात व्यवस्था विभागले अदालतबाट इम्बोस्ड नम्बर प्लेटबारे आदेश आइसकेको र राजपत्रमा सूचना पनि प्रकाशित भइसकेकाले लट अनुसार सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दै जाने दृढता प्रकट गरेको भएपनि यसका केही कठिनाइबारे नागरिकस्तरबाट पनि विरोध भएको थियो ।
इम्बोस्ड नम्बर प्लेट जडान भयो भने त्यसमा जीपीएस सिस्टम पनि हुन्छ। भनेपछि गाडी कहाँ छ कुन अवस्थामा छ कता जाँदैछ भन्ने पत्ता लगाउन पनि सकिन्छ । त्यो जडान गरेपछि गाडी हराउँदा अथवा चोरी हुँदा पनि पत्ता लगाउन सजिलो हुनेछ।
सरकारले दुईपाङ्ग्रे सवारीका लागि इम्बोस्ड नम्बर प्लेटको शुल्क २,६०० रुपैयाँ तोकेको छ। ट्रकजस्ता ठूला सवारीसाधनमा सबैभन्दा बढी ३,६०० रुपैयाँ तिर्नुपर्ने हुन्छ।
यो नम्बर प्लेट विगतमा जस्तो आफैँ जडान गर्न नसकिने बताइएको छ। विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि तोकिदिएको स्थानमा पुगेर सवारी धनी आफैँले जडान गराउनुपर्ने हुन्छ। एक पटक जडान गरिएको इम्बोस्ड नम्बर प्लेट काम नलाग्ने नभएसम्म प्रयोग गर्न सकिने विभागले जनाएको छ।
इम्बोस्ड नम्बर प्लेट लिने सवारी धनीले हाल प्रयोगमा रहेको नम्बरभन्दा फरक नयाँ नम्बर प्राप्त गर्ने बताइएको छ।