काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ नभए सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने चेतावनी दिएको छ । आज सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले थारुहरुको ठूलो पर्व माघीसम्म चौधरीको रिहाइ मुख्य शर्त भएको बताउनुभयो ।
उहाँले चौधरीको रिहाइ नभएको अवस्थामा भने प्रदेशसभाको बैठकमा अवरोध गर्ने चेतावनी दिनुभएको छ ।
चौधरीले टीकापुर घटना अपराधिक नभएर राजनीतिक घटना भएका कारण सोही रुपमा राज्यले निकास खोज्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले आफूहरु जनताबाट ५ वर्षका लागि अनुमोदित भएर आएको बताउदै चुनौती र अवसर दुवै रहेको पनि बताउनुभयो ।
संघीय सरकारमा बाहिर बसेर समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ लगायतका माग राख्दै आएको छ । सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा निर्णायक देखिएको यो पार्टीले मुख्यमन्त्रीमा समेत दाबी गरेको छ ।