काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले सोमबार(आज) पोलिटब्युरो बैठक बोलाएको छ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने सो दलले जनाएको छ । शनिबार र आइतबार दुई दिन बसेको सो दलको स्थायी कमिटी बैठकले पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको थियो ।
पार्टीका महासचिव डा. बेदुराम भुसालका अनुसार पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरण तथा अन्य राजनीतिक विषयमा छलफल गर्न पोलिटब्युरो बैठक बोलाइएको हो । सो दलभित्र पार्टीको आन्तरिक सुदृढीकरण गरेर अघि बढ्ने कि अन्य पार्टीसँग पार्टी एकता गरेर जाने विषयमा छलफल जारी रहेको नेताहरूले बताएका छन् ।
प्रतिनिधिसभामा १० सिट जितेको सो दलले थ्रेसहोल्डका कारण राष्ट्रिय दल बन्न नसक्दा पार्टीभित्र त्यसबारे समीक्षा भइरहेको महासचिव भुसालले जनाउनुभयो । आगामी दिनमा थप सशक्त भएर पार्टीलाई अगाडि बढाउने विषयमा सुझाव आइरहेको उहाँको भनाइ छ । आजको बैठक त्यही विषयमा केन्द्रित भएर छलफल गर्ने उहाँले बताउनुभयो ।