काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार(आज) बजार परिसूचक नेप्से ५.८९ अंकले गिरावट भएर १८६७.२२ अंकमा बन्द भएको छ । आज बजारलाई लिड गर्ने बैंकिङ उपसूचक वृद्धि भएपनि त्यसबाहेकका सबै उपसूचकमा गिरावट हुँदा नेप्से सामान्य घटेको छ ।
बैंकिङ उपसूचक ०.२७ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने सर्वाधिक १.५ प्रतिशतले गिरावट भएको छ । यस्तै अन्य उपसूचक १.३९ प्रतिशतले गिरावट हुँदा अरू सबै उपसूचक १ प्रतिशत भन्दा कमले गिरावट भएको छ । सोमबार र हिजो मंगलबार लगातार दुई दिन बढेको नेप्से आज भने घटेको हो । नेप्सेमा गिरावट हुँदा कारोबार रकममा पनि उत्साह भने छैन ।
आज नेप्सेमा २४ लाख ४० हजार ३०७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ८६ करोड ३८ लाख १७ हजार बराबरको कारोबार भएको छ । जसमध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ११ करोड ८२ लाख ४६ हजारको कारोबार हुँदा नबिल बैंकको ३ करोड ९५ लाख ९ हजारको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको ३ करोड ८५ लाख ७७ हजारको कारोबार भएको छ ।
आज नेप्सेमा कुल २१२ कम्पनीको शेयर कारोबार भएकोमा १४० कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ६३ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ९ कम्पनीको शेयर मूल्य भने स्थिर छ । जसमध्ये आँधीखोला र सृजनशील लघुवित्तको शेयर मूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा इस्टन हाइड्रोपावरेको शेयर मूल्य ९.८५ प्रतिशतले वृद्धि भएको छ ।
यता पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य ६.२८ प्रतिशतले गिरावट हुँदा गुडविल फाइनान्सको शेयर मूल्य ३.६० प्रतिशत र सिनर्जी पावरको शेयर मूल्य ३.५० प्रतिशतले गिरावट भएको छ ।