काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का समर्थक बस्नुभएको छ । त्यस्तै महामन्त्री थापाको उम्मेदवारीमा नेता शेखर कोइराला उहाँको प्रस्तावक बन्नुभएको छ भने उहाँलाई उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गर्नुभएको छ ।
कांग्रेस संसदीय दलको नेताको लागि बुधबार विहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदैछ ।
संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका सांसदहरू मतदाता हुन्छन् । यसपटक ८९ जना सांसद छन् । संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही सरकारको प्रधानमन्त्री बन्ने अभ्यास छ ।