काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रो रेलको विकल्प नरहेको बताउनुभएको छ । आज ललितपुर महानगरपालिकाको १०४औँ स्थापना दिवसका अवसरमा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले मेट्रो रेल धेरै महँगो छ भनेर पछाडि हट्न नहुने बताउनुभयो । मोटरसाइकल थपेर उपत्यकामा ट्राफिक जाम बढाउनुभन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्नेमा उहाँले जोड दिनुभयो । मेट्रो रेलको विकल्प मोेटरसाइकल हुन नसक्ने उहाँको भनाइ छ ।
अन्तर्राष्ट्रिय अध्ययनानुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य रहेको भन्दै उहाँले विलम्ब नगरी मेट्रोको आवश्यक तयारी गर्नुपर्ने बताउनुभयो ।
उहाँले मेट्रो रेलका लागि संघ सरकारको अनुहार हेरेर कहिल्यै सम्भव नहुने भन्दै काठमाडौं र ललितपुर महानगरपालिकालगायत काठमाडौं उपत्यकाका १८ पालिकाको राम्रो भूमिका यसमा हुनुपर्ने बताउनुभयो ।
विशेष गरी मेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले प्रमुख भूमिका खेल्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ ।