काठमाडौं । मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । आयोगले आज सम्पूर्ण मतपरिणाम सार्वजनिक गर्दै निर्वाचन भयरहित वातावरणमा सम्पन्न भएको दाबी गरेको छ । कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले दिएको मतबाट ७ राजनीतिक दलले राष्ट्रिय मान्यता पाएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।
मतदाताले प्रत्यक्षतर्फ भन्दा समानुपातिकतर्फ बढी मतदान गरेको पाइएको छ र बदर मत पनि समानुपातिकमा बढी देखिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको थियो । जसमध्ये १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको छ । ५ दशमलव ०६ प्रतिशत मत बदर भएको छ । प्रतिनिधिसभाकै समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको छ भने ५ दशमलव ०९ प्रतिशत मत बदर भएको छ । प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड १० लाख ३४ हजार ५०० (६१ दशमलव ३६ प्रतिशत) मतदान भएको थियो । जसमध्ये १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको छ भने ४ दशमलव ०७ प्रतिशत मत बदर भएको छ । प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भएको छ । बाँकी ६ दशमलव ५५ प्रतिशत मत बदर भएको छ । निर्वाचनमा ७५ प्रतिशत भन्दा बढी उम्मेदवारको धरौटी (जमानत) जफत भएको छ । प्रतिनिधिसभामा दुई हजार ४११ र प्रदेशसभामा ३ हजार २२४ जनाको उम्मेदवारी परेको थियो । तीमध्ये प्रतिनिधिसभातर्फ एक हजार ७७२ पुरुष र १८९ जना महिला गरी एक हजार ९६१ जनाको धरौटी जफत भएको छ । त्यस्तै प्रदेशसभातर्फ २ हजार ८६ पुरुष, २३७ महिला र एक जना अन्य गरी कुल २ हजार ३२४ जनाको धरौटी जफत भएको छ । यसैबीच निर्वाचन भने भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै आयोगले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
निर्वाचनको परिणाम भोलि राष्ट्रपति समक्ष बुझाउने आयोगको तयारी रहेको छ । राष्ट्रपति कार्यालयबाट प्रमाणिकरण भइसकेपछि संसदीय प्रक्रिया शुरु हुनेछ । करिब निर्वाचनको परिणाम आएको डेढसाता बित्दा पनि सरकारको आकार देखिएको छैन ।