Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सरकार गठनको आकार अझै देखिएन, कसले सरकार बनाउने भन्नेमै अन्योलता (खासखबर)

सरकार गठनको आकार अझै देखिएन, कसले सरकार बनाउने भन्नेमै अन्योलता (खासखबर)

  • आइतवार, मंसिर २५ २०७९

  • 466
    SHARES

  • सरकार गठनको आकार अझै देखिएन, कसले सरकार बनाउने भन्नेमै अन्योलता (खासखबर)

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएको एकसाता हुन लाग्दा पनि दलहरूले सरकार गठनलाई सामान्य आकार दिन सकेका छैनन् । सरकारमा क–कसलाई सहभागी गराउने र स्थीर सरका कसरी निर्माण गर्न सकिन्छ भन्नेमा अन्योल कायम रहेको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनैपनि दलको बहुमत नआएपछि गठबन्धन गरेर नै सरकार बन्ने निश्चित छ । प्रचलित संविधानको धारा ७६ (२) अनुसार सरकार गठन हुने भएको छ । तर, हालसम्म कुनै पनि दलले सरकार गठनका लागि आवश्यक पर्ने साधारण बहुमत १ सय ३८ सांसदको समर्थन जुटाउन सकेका छैनन् ।

    सत्तारुढ गठबन्धनभित्र सरकार गठनका विषयमा एकमत छैन । गठबन्धनको नेतृत्व गरेको कांग्रेसभित्रै नयाँ सरकारको नेतृत्व लिने विषयमा पनि एकमत छैन । माओवादी नयाँ सरकार गठनमा पर्ख र हेरको अवस्थामा छ । सरकारको नेतृत्व गर्न जुन दलले दिन्छ, उसैलाई समर्थन गरेर आलोपालो सरकार गठनमा जाने माओवादी केन्द्रको तयारी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने दाउमा देखिन्छन् । संसदीय प्रक्रिया शुरु भएपछि प्रधानमन्त्री को बन्ने भन्ने विषयमा टुंगोमा पुगिने माओवादी केन्द्रका नेता देव गुरुङको भनाइ छ ।

    एकीकृत समाजवादी पनि कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धनमा आबद्ध दलको निर्णय पर्खेको छ भने केही दल आफ्ना राजनीतिक स्वार्थ पूरा गर्नेलाई समर्थन गर्ने तयारीमा छन् । ८९ सिट जितेको कांग्रेसले सुरुमा सरकारको नेतृत्व गर्न चाहेको छ । उसले सरकार गठनका लागि गठबन्धन आबद्ध दलकै समर्थन जुटाउन सकिरहेको छैन । कांग्रेसमा संसदीय दलको नेता जो बन्छ उसैले प्रधानमन्त्रीमा दाबी गर्ने हो । अहिलेको अवस्थामा देउवा पुरानै संसदीय दलको नेता हुन् । दलको नेताका लागि महामन्त्री गगन थापाले पनि तयारी गरेकाले को बन्छ भन्ने ग्यारेन्टी छैन । यता, कांग्रेस नेता एवम् नवनिर्वाचित सांसद एनपी साउँदका अनुसार अहिलेको परिस्थितिलाई सम्हाल्नका निम्ति अनुभवी व्यक्तिकै खाँचो छ जो शेरबहादुर देउवा हुन् ।।

    आवश्यक परेको खण्डमा सरकारको नेतृत्व लिन आफ्नो पार्टी तयार रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमै बोलिसकेका छन् । तर, ओलीले पनि सरकार गठनका लागि आवश्यक पर्ने १ सय ३८ सांसदको समर्थन जुटाउन भने सकेका छैनन् । ७८ सिट रहेको एमालेलाई सरकार गठनका लागि थप ६० सांसदको समर्थन आवश्यक पर्छ । त्यस्तै, एमालेको विश्लेषण अनुसार गठबन्धनभित्रमा को प्रधानमन्त्री बन्ने भन्नेमा विवाद सिर्जना हुँदै गएको छ । एमालेका नेता महेश बस्नेतका अनुसार बामपन्थीहरुका बीचमा एकता भएर सरकार बनाउने विषयमा छलफल शुरु भएको छ ।

    समानुपातिक सांसदहरुको सूची निर्वाचन आयोगलाई बुझाएका दलहरुको अबको प्राथमिकता सरकार निर्माण हो, अब बन्ने सरकार स्थायी र विकास प्रेमी बनोस् भन्ने सबैको चाहाना छ ।

     


    आइतवार, मंसिर २५ २०७९०७:४१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij