काठमाडौं । शेयर बजार परिसूचकमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार(आज) बजार परिसूचक नेप्से १६.६१ अंक (०.८६ प्रतिशत) ले गिरावट भएर १९१७.२८ अंकमा बन्द भएको छ । होटेल तथा पर्यटन बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो ।
होटेल तथा पर्यटन उपसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ । यता बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै १.२८ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी र उत्पादनमूलक उपसूचक पनि १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । मर्जर सम्झौतापछि कारोबार रोकिएको ग्लोबल आईएमई बैंकको शेयर धितोपत्र बोर्डको नयाँ व्यवस्था अनुसार खुलेसँगै आज ९.२९ प्रतिशतले गिरावट भएको छ । जसले बैंकिङ उपसूचकमा उच्च गिरावटको लागि सहयोग भएको छ ।
यस्तै नाडेप लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट लेभलमा बन्द हुँदा शिवं सिमेन्टको शेयर मूल्य ४.८६ प्रतिशतले गिरावट भएको छ । यता खप्तड लघुवित्तको शेयर मूल्य सर्वाधिक ६.०९ प्रतिशतले वृद्धि हुँदा कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ५.१५ प्रतिशत र ग्रिन भेञ्चर लिमिटेडको शेयर मूल्य ४.४२ प्रतिशतले वृद्धि भएको छ । आज नेप्सेमा कुल १९९ कम्पनीको शेयर कारोबार हुँदा १५९ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ३७ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ८ कम्पनीको स्थिर छ ।
सानिमा बैंकको संस्थापक शेयर ५१ लाख कित्ता कारोबार हुँदा आजको कारोबार रकम भने बढेको छ । बैंकको ६७ करोड २ लाख ९३ हजारको संस्थापक शेयर कारोबार हुँदा आज बजारमा कुल १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५१ रुपैयाँको कारोबार भएको छ । ८० लाख ९२ हजार ७१७ कित्ता शेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
आज शिवं सिमेन्टको १३ करोड ८५ लाख ५४ हजार र नबिल बैंकको ४ करोड ५२ लाख ८८ हजारको कारोबार भएको छ ।