काठमाडौं । काठमाडौँको लाजिम्पाटमा अन्तर्राष्ट्रिय हवाई टिकट बुकिङ सम्बन्धि निःशुल्क तालिम सुरु भएको छ ।
ट्राभल एजेन्सी, एयरलाइन्स र होटलमा प्रयोग गर्दै आएको सफ्टवेयर प्रदान गर्दै आइरहेको अन्तर्राष्ट्रिय संस्था सेवर ट्राभल नेटवर्क नेपालको आयोजनामा आइतबारदेखि एकमहिने अन्तर्राष्ट्रिय हवाई टिकट बुकिङ सम्बन्धि निःशुल्क तालिम सुरु भएको हो ।
पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र रोजगारी प्रदान गर्ने मुख्य उदेश्यअनुसार एकमहिने तालिम सुरु गरिएको सेवर ट्राभल नेटवर्क नेपालका महाप्रबन्धक अनुपा बुढाथोकीले जानकारी दिनुभयो । “प्लस टु पढेर कामको खोजीमा रहेका युवालाई निःशुल्क तालिम प्रदान गरेर सम्बन्धित क्षेत्रमा रोजगारी प्रदान गर्न तालिम सञ्चालन गरेका हौँ,”– उहाँले भन्नुभयो ।
उक्त तालिममा स्वदेशी तथा विदेशी एयरलाइन्समा टिकट काट्न सिकाईन्छ । महाप्रबन्धक बुढाथोकीका अनुसार हरेक महिना १० देखि १५ जनालाई निःशुल्क तालिम प्रदान गरी विभिन्न ट्राभल एजेन्सीसँग सहकार्य गरी रोजगारी प्रदान गरिनेछ ।
नेपालमा दुई दशक पहिले स्थापना भएको सेवर ट्राभल नेटवर्क नेपालले हाल नेपालको एक हजार ५०० भन्दा बढी ट्राभल एजेन्सी, एयरलाइन्स तथा होटलमा सफ्टवेयर प्रदान गर्दै आएको छ । सेवर नेटवर्क नेपालसहित विश्वका १६० भन्दा बढी मुलुकमा फैलिएको छ ।