Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरकारले धान खरिद नगर्दा सस्तोमा बिक्री गर्न किसानहरु बाध्य

सरकारले धान खरिद नगर्दा सस्तोमा बिक्री गर्न किसानहरु बाध्य

  • बुधवार, मंसिर १४ २०७९

  • 392
    SHARES

  • सरकारले धान खरिद नगर्दा सस्तोमा बिक्री गर्न किसानहरु बाध्य

    काठमाडौं । बाँकेका किसानले उत्पादन गरेको धान बर्सेनी सरकारले तोकेको मूल्यमा खरिद गर्दैआएको भए पनि नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस पटक हालसम्म धान खरिद नगर्दा किसानहरू समस्यामा परेका छन् ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अहिलेसम्म पनि धान खरिद प्रक्रिया सुरु नगरेकाले किसानले सस्तोमा व्यापारीलाई धान बिक्री गर्नुपर्ने बाध्यता रहेको किसानको गुनासो छ ।

    सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य दुई हजार ९६७ रुपियाँ तोके पनि खाद्य व्यवस्था कार्यालयले खरिद नगर्दा बजारमा व्यापारीलाई बाध्य भएर दुई हजार ४०४ रुपैयाँमा बिक्री गरेको डुडुवा कम्दीका किसान हरिराम यादवले बताउनुभयो ।

    पैसाको जरुरी परेका बेला सरकारले तोकेको मूल्यमा व्यापारीले धान खरिद नगर्दा सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता आएको यादवले गुनासो गर्नुभयो । हिउँदे बाली गहुँ लगाउने बेला भएकाले बीउ र मल खरिद गर्न पैसा नहुँदा बाध्य भएर व्यापारीलाई सस्तोमा धान बिक्री गर्नुपरेको खजुरा ३ का किसान रमेश थापाले बताउनुभयो ।

    सरकारले तोकेको मूल्यभन्दा निकै कम मूल्यमा बजारमा व्यापारीले खुला रूपमा धान खरिद गरे पनि कुनै निकायले केही नबोल्दा आफूहरू समस्यामा परेको थापाले बताउनुभयो । सोही प्रकारले नेपालगन्ज उपमहानगरपालिका १२ का किसान सुन्दर जरवटले पनि तीन क्विन्टल मोटा धान बाध्य भएर सस्तो मूल्यमा व्यापारीलाई बेचेको बताउनुभयो ।

    सरकारले तोकेको भन्दा प्रतिक्विन्टल ५०० रुपैयाँ कममा व्यापारीले धान खरिद गरिरहेको किसानको भनाइ छ । नेपालगन्ज, खजुरा र कोहलपुरका व्यापारीले मोटो धानको प्रतिक्विन्टल दुई हजार ४०० भन्दा बढी मूल्य दिन नमानेपछि अधिकांश किसानले बाध्य भएर सस्तोमा धान बिक्री गरिरहेका छन् ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले धान खरिदका लागि मूल्य तोकिए पनि बाँकेबाट कति धान खरिद गर्ने भन्ने कोटा निर्धारण नगरिएकाले धान खरिद सुरु नभएको बताउनुभयो ।

    कोटो निर्धारण गरेर खरिद गर्ने निर्देशन आएलगत्तै बाँकेमा पनि किसानका धान सरकारी दररेटमा खरिद गरिने उहाँको भनाइ छ । धान खेती भएको क्षेत्रलाई आधार मान्दा यस वर्ष बाँकेमा एक लाख ४९ हजार १०२ मेट्रिक टन धान उत्पादन भएको आङ्कलन गरिएको छ ।


    बुधवार, मंसिर १४ २०७९०२:२६:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij