काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार(आज) शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । आज बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।
आज नेप्से २५.५७ अंक (१.३४ प्रतिशत)ले वृद्धि भएर १९३६.८३ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक ३.१४ प्रतिशतले बढेको छ ।
आज कारोबार रकम पनि बढेर १ अर्ब ७० करोड भन्दा माथि पुगेको छ । हिजो ८६ करोडको कारोबार भएको बजारमा आज ४३ लाख ८४ हजार ४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख १९ हजारको कारोबार भएको छ ।
आज नेप्सेमा रिडी हाइड्रोपावरको सर्वाधिक १४ करोड ३९ लाख १६ हजारको कारोबार हुँदा शिवम् सिमेन्टको १३ करोड ४० लाख २७ हजारको कारोबार भएको छ । हिमालयन डिस्टिलरीको १० करोड २९ लाख ६४ हजारको कारोबार भएको छ ।
बजारमा कुल १८७ कम्पनीको शेयर कारोबार हुँदा १७२ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै १३ कम्पनीको शेयर मूल्यमा गिरावट हुँदा २ कम्पनीको शेयर मूल्य स्थिर छ ।
जमसध्ये सिक्लेस हाइड्रोपावर शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा सयपत्री हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ । यस्तै बोटलर्स नेपाल तराइको सेयर मूल्य ७.५१ प्रतिशतले बढेको छ ।
यता खराब वित्तीय विवरणले फर्वाड कम्युनिटी लघुवित्तको शेयर मूल्य २.९७ प्रतिशतले गिरावट हुँदा इमर्जीङ नेपालको शेयर मूल्य १.८७ प्रतिशत र तारगाउँ रिजेन्सी होटेलको शेयर मूल्य १.६९ प्रतिशतले घटेको छ ।