काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नाराणकाजी श्रेष्ठले लोकतान्त्रिक पद्धति नै सबैभन्दा उत्तम व्यवस्था रहेको बताउनुभएको छ । निरंकुश र तानाशाहीतन्त्र छलफलको झन्झटबाट मुक्त हुने भएकाले उसले गरेका निर्णय जनपक्षीय हुन नसक्ने उहाँले ठोकुवा गर्नुभएको हो ।
लोकतान्त्रिक पद्धतिअन्तर्गत काम गर्दा केही प्रकृयागत ढिलाई हुने भए पनि त्यसमा बिचार सुन्ने सहिष्णुता र छलफल गर्ने धैर्यता हुने प्रवक्ता श्रेष्ठको दाबी छ ।
‘लोकतान्त्रिक पद्धतिअन्तर्गत काम गर्दा केही प्रकृयागत ढिलाइ हुन सक्छ । बिचार सुन्ने सहिष्णुता र छलफल गर्ने धैर्यता चाहिन्छ लोकतन्त्रमा’, सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, ‘तर, निरंकुश र तानाशाहीतन्त्र छलफलको झञ्झटबाट मुक्त र छिटो काम हुने ब्यवस्था लाग्न सक्छ । तर, लोकतन्त्र नै उत्तम हुन्छ, निरंकुशतन्त्र होइन ।’
त्यस्तै, प्रवक्ता श्रेष्ठले स्वार्थी र अन्ध प्रशंसकको नभएर आलोचनात्मक चेत भएका मित्रहरुको भर गर्न पार्टीका नेता–कार्यकर्तालाई अपिल गर्नुभएको छ ।
‘आलोचनात्मक चेत भएका साँच्चैका हितैषीहरुले आफूले ठिक नदेखेको कुरा समयमै भन्छन् र गल्ती गर्न वा पतनबाट बचाउँछन्, जबकि, निहीत स्वार्थ केन्द्रीतत अन्ध चाकडीवाजहरुले प्रशंसा र भजन मात्रै गाँउछन् र डुवाउछन् । त्यसैले आलोचनात्मक चेत भएका मित्रहरुमा भर गरौं, स्वार्थी अन्ध प्रशंसकमा होइन’, उहाँले भन्नुभएको छ, ‘बिचारसहितको विवेक भएकाहरु मुर्खले जस्तो सुर्याइँ नदेखाउन सक्छन् । यसर्थ, कुनै निर्णय र काम गर्नुअघि संसयकारी जस्ता देखिन सक्छन् । तर बिचारसहितका विवेकीहरु नै सुरा मुर्खहरुभन्दा भरपर्न लायक हुन्छन् ।’
प्रवक्ता श्रेष्ठले आफ्नो स्टाटस कोप्रति लक्षित रहेको भनेर खुलाउनु भएको भने छैन ।
तर, देशमा लोकतान्त्रिक व्यवस्थाको विकल्प खोज्नुपर्छ भन्ने पार्टीभित्रका ‘हार्डलाइनर’ र चाकडी र चाप्लुसी गरेको मनपराउने नेताहरुप्रति उहाँको स्टाटस लक्षित छ भनेर अनुमान गर्न भने सकिन्छ ।
