काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुका नेपाली सेना खटाउनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको शिक्षा समितिअन्तर्गतको उपसमितिकोे आज बसेको बैठकमा प्रजिअ दाहालले सेना परिचालन नगरेसम्म उपत्यका प्रवेश गर्ने नाका ठप्प पार्न नसकिने बताउनुभयो ।
‘व्यवस्थापनका लागि उपत्यका प्रवेश गर्ने नाकामा सेना खटाउनुपर्ने भएको छ’, उहाँले भन्नुभयो, ‘यसबारेको प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टरमा समेत पठाए पनि कुनै हालसम्म कुनै निर्णय भएको छैन ।’
त्यस्तै, प्रजिअ दाहालले उपत्यका प्रवेशमा कडाइ र फेरि सहजीकरण गर्दै जानुपर्ने दुईवटा काम अप्ठ्यारो रहेको बताउनुभएको छ । चार महिनाको लकडाउन र पछिल्लोपटक तीन साताको निषेधाज्ञाका कारण मानिसहरुले खान नपाएको गुनासो आउन थालेको बताउदै उहाँले कोरोनासँग बाच्न सिक्नुपर्नेमा जोड दिनुभएको छ ।
अहिले पनि जनस्वास्थ्यका मापदण्ड सीमित मानिसहरुले मात्र पालना गर्ने गरेको भन्दै उहाँले यसमा सचेत हुनुपर्ने बताउनुभयो ।
सरकारका निकायहरुले आफ्नो मातहतमा पर्ने क्षेत्रको अनुगमन गर्नुपर्ने उहाँको भनाइ छ ।
त्यस्तै, ललितपुरका प्रजिअ नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने बताउनुभयो ।
उपत्यकाका तीन जिल्लाका पजिअले ४ भदौबाट निषेधाज्ञा जारी गरेका छन् । भदौ १७ गतेदेखि केही खुकुलो बनाएर थप गरिएको निषेधाज्ञा २४ गते सकिँदैछ ।
बैठकमा प्रजिअ भट्टले केही सहजीकरण गरेर निषेधाज्ञा दशैंसम्म राख्नुपर्ने धारणा राख्नुभयो ।