काठमाडौं । नेपाली कांग्रेस नेता तथा पाल्पा क्षेत्र नम्बर २ ‘क’का उम्मेद्वार वीरबहादुर रानाले आगामी निर्वाचन गठबन्धनले जित्ने र लुम्बीनी प्रदेशमा त्यसको नेतृत्व आफुले गर्ने बताउनुभएको छ।
प्राइम टाइम्स टेलिभिजनको चुनावी महासंग्राम कार्यक्रममा सहभागी हुँदै उहाँले केन्द्रदेखी प्रदेश सबैमा काँग्रेस नेतृत्वकै सरकार बन्ने बताउदै आँफु लुम्बीनी प्रदेशको मुख्यमन्त्री दावी गर्नु भएको हो । उहाँले आम मतदातामा राजनीतिप्रति वितृष्णा पैदा भएकोले दलहरुप्रतिको विश्वास गुम्दै गएको बताउनु भयो ।
उहाँले संघीयतामा प्रदेश बलियो हुने व्यवस्था भएपनि दल र दलका नेताहरुको कार्यशैली नसुध्रिदाँ प्रदेश र संघीयताप्रति नै वितृष्णा पैदा भएको बताउनु भयो । तर, पनि राजनैतिक दलको विकल्प नभएकोले यो निर्वाचनमा योग्य र दक्ष व्यक्ति चयन गर्न आम मतदातालाई आग्रह गर्नुभयो ।
राजनीति समर्पण हुनुपर्नेमा पेशा बनेको उल्लेख गर्दै उहाँले यसलाई चिर्न पनि आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । अघिल्लो पटक लुम्बिनी प्रदेशमा छोटो कार्यकालका लागि मन्त्री बनेपनि पाल्पामा उल्लेख्य काम गरेको दाबी गर्दै उहाँले यसपटक पनि आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो ।
उहाँले अघिल्लो कार्यकालमा २०३८ सालबाट शुरु भएर अलपत्र परेको कचल सिँचाईं फाट आयोजनाको पूर्णताले किसानको दैनिकी नै सुधारिएको बताउनुभयो । त्यस्तै, उहाँले पाल्पामा सिँचाईं बिस्तार र ग्रामिण सडकलाई बाह्रै महिना नियमित चल्ने बनाउने आफ्नो पहिलो प्राथमिकताामा रहेको बताउनुभयो ।
यसैबीच, उहाँले अन्य थुप्रै योजना र पाल्पा समृद्ध बनाउने थुप्रै्र सपना बाँकी रहेकोले आम मतदाता पनि आफूमा आशावादी रहेकोले यो निर्वाचनमा निर्वाचित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
राना यसअघि लुम्बिनी प्रदेशको सिँचाईं मन्त्री भइसक्नुभएको छ भने नेपाली कांग्रेस पाल्पाको दुई कार्यकाल सभापति पनि सम्हालिसक्नु भएको छ । निर्वाचनपछि आफू मुख्यमन्त्रीका लागि बलियो दाबेदार रहेको उहाँको भनाइ छ ।