काठमाडौ. राष्ट्रपति विद्यादेवी भण्डारी भोली मुस्ताङ जानुहुने भएको छ । राष्ट्रपति भण्डारी प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै मुस्ताङ भ्रमण गर्न जान लाग्नुभएको हो । राष्ट्रपतिले भोली बिहान ८ बजे मुक्तिनाथ दर्शन गर्नुहुने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
त्यसलगत्तै राष्ट्रपति भण्डारीले भगवान् गौतम बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम पनि रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । यस्तै राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन हुने छ ।
यसअघि राष्ट्रपति भण्डारीले गत वर्ष कात्तिकमा पनि मुक्तिनाथमा पूजाआज र भ्रमण गर्नुभएको थियो ।