Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाका उम्मेदवारलाई तीन वटासम्म सम्पर्क कार्यालय खोल्न छुट

प्रतिनिधिसभाका उम्मेदवारलाई तीन वटासम्म सम्पर्क कार्यालय खोल्न छुट

  • मंगलवार, कार्तिक ८ २०७९

  • 442
    SHARES

  • प्रतिनिधिसभाका उम्मेदवारलाई तीन वटासम्म सम्पर्क कार्यालय खोल्न छुट

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्न सीमा तोकेको छ ।

    आयोगले मंगलबार दल र उम्मेदवारहरूलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको हो । जसअनुसार प्रतिनिधि सभाका उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढीमा तीनवटा र प्रदेश सभाका उम्मेदवारले एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाउने छन् ।

    यस्तै आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाका समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेस गरेका दलले प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्रमा एउटा सम्पर्क कार्यालय खोल्न सक्ने र सम्भव भएसम्म एउटै स्थान प्रयोग गर्न निर्देशन दिएको छ ।

    प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यतर्फ उम्मेदवारी दिई निर्वाचन चिन्ह प्राप्त गरी सकेपछि त्यस्ता उम्मेदवारले अन्य कुनै उम्मेदवारलाई समर्थन गरेको भएमा त्यस्ता उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गर्न नपाउने र प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि घर भाडामा लिई सम्पर्क कार्यालय स्थापना गरेको भएमा त्यस्तो घरको घर भाडा उम्मेदवारको निर्वाचन खर्चमा समावेश गर्नुपर्ने आयोगको निर्देशनमा उल्लेख छ ।

    राजनीतिक दल वा उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गरेको जानकारी निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा तुरुन्त उपलब्ध गराउनुपर्ने आयोगले जनाएको छ ।

    राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ मा आयोगले संविधान र प्रचलित कानूनको अधीनमा रही दलले गर्ने काम कारबाही सञ्चालन गर्दा पालना गर्नु पर्ने विषयका सम्बन्धमा आयोगले आवश्यक निर्देशन दिन सक्नेछ । सोही दफाको उपदफा (२) मा उपदफा (१) बमोजिमको निर्देशन पालना गर्नु प्रत्येक दलको कर्तव्य हुने कानूनी व्यवस्था छ ।


    मंगलवार, कार्तिक ८ २०७९०३:१६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij