काठमाडौं । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाको राजीनामाको विषयमासमेत छलफल भएको थियो ।
खतिवडा अब राष्ट्रियसभा सदस्य नरहने भएपछि उहाँलाई राजीनामा दिन सुझाइएको छ ।
यसैबीच खतिवडाले राजीनामा दिने घोषणा गर्नुभएको छ । बैठकमा उहाँले आज साँझ ६ बजे राजीनामा दिने घोषणा गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
राष्ट्रियसभाको एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो तत्कालका लागि बन्द भएको छ । यससँगै उहाँले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो ।
नेकपाको बिहीबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने जानकारी गराउनुभएको थियो । सोहीअनुसार सरकारले गौतमको नाम सिफारिस गरेको हो ।