काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्द नगरबासी सडकमा उत्रिएका छन्। धरान ४, १३ र १४ का सर्वसाधारणले बिहीबार मेयर राईविरुद्द शिवधारा चोकमा आन्दोलन गरेका छन्।
मेयर राईले धरान ४ को शिवजट्टाबाट खानेपानी ल्याउने तयारी गरेपछि त्यसको प्रतिकारमा तीनवटा वाडका बासिन्दा उत्रिएका हुन्। मेयर राइले जनश्रमदानबाट खानेपानी ल्याउन तयारी गरेपछि धरान ४, १३ र १४ का बासिन्दाले खानेपानी मुहान जाने बाटो शिवधारा पेट्रोल पम्पअगाडि अवरोध गरेका थिए ।
मेयर राइले तीन वडाका जनताले निजी लगानीमा पानी खाइरहेकामा यहाँका जनतालाई काकाकुल बनाउने उद्देश्यले मुहान मिचेर खानेपानी अन्यत्र लैजान लागेकाले आन्दोनमा उत्रनु परेको धरान १४ का नबिन केसीले बताउनुभयो । उहाँले मेयर राइले आफ्न समर्थकलाई उकासेर यहाँका जनतासँग मुढभेड गराउन खोजेको आरोप लगाउनुभयो ।
धरान ४,१३ र १४ का बासिन्दाले खाँदै गरेको पानीको मुहान माथिबाट मेयर राइले खानेपानी अन्यत्र लान लागेपछि उनीविरुद्ध आन्दोलन गर्नु परेको धरान १३ का मदन कट्वालले बताउनुभये । उहाँले यस क्षेत्रका बासिन्दाको सहमती बेगर खानेपानी अन्यत्र लगिए कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ।

मेयर राई दलबलसहित शिबजट्टाको पानी ल्याउन हिंडेपछि आन्दोलनकारीले शिवधारामा बाटो छेकेका थिए। दुईतर्फी झडप हुने देखिएपछि घटना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
झडप हुने अवस्था आएपछि तत्काल प्रहरी परिचलन गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी वुद्ध श्रेष्ठले बताउनुभयो । मेयर राईले उपमहानगरपालिकाबाट संस्थागत निर्णयबेगर आफूखुशी काम गर्दै हिंडेको भन्दै आन्दोलनकारीलाई धरान ४ का वडाअध्यक्ष धनबहादुर राई र १४ का कृष्ण भट्टराईलेसमेत साथ दिएका छन्। धरान ४ का वडाअध्यक्ष राईले मेयरले मनोमानी ढङ्गले खानेपानी अन्यत्र लागि यहाँका जनतालाई काकाकुल बनाउन खोजेको आरोप लगाउनुभयो ।
मेयर साम्पाङलाई सर्वसाधारणले घेराउ गरी चर्को विरोध गरेपछि वार्ताद्वारा यसको समस्या समाधान गरिने र धरान ४, १३ र १४ का बासिन्दालाई अन्याय नगरिने आश्वासन दिएका छन्।