काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेतारकार्यकर्तामा गम्भीर जिम्मेवारी आएको बताउनुभएको छ ।
‘नेकपाभित्रको विवादलाई सीमित नेताहरूको समस्याको रुपमा मात्र नहेरौं यो हाम्रो राष्ट्र, देश र कम्युनिष्ट आन्दोलनको समस्याको रुपमा देखिएको छ ।’ शनिबार बिहान नेता शर्माले फेसबूकमा लेख्नुभएको छ, ‘दुई नेताले के गर्लान् भनेर अब हेरेर बस्नु हुँदैन । पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेतारकार्यकर्तामा गम्भीर जिम्मेवारी आएको छ ।’
उहाँले नेकपा नफुट्ने र फुटाउन नदिने धारणा राख्नुभएको छ । पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका आ–आफ्ना स्वार्थ पूर्तिको हतियार बन्न दिन नहुने स्पष्ट पार्नुभएको छ ।
नेकपाभित्र चर्कँदै गएको आन्तरिक कलहले गम्भीर मोड लिएपछि शीर्ष नेताहरु आन्तरिक छलफलमा व्यस्त छन् । स्थायी कमिटीको मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै चर्काचर्की भएपछि आन्तरिक कलहले गम्भीर मोड लिएको हो ।