काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनावमा तालमेल गर्ने सहमति गरेको सत्तारूढ गठबन्धन सिट बाँडफाँटको ज्वरोले थलिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने हरेक दिनको बैठक अहिल्यै निष्कर्षमा पुगिहाल्ने अवस्थामा छैन । शीर्ष नेताहरू भागबण्डा मिलाउन दिनहुँ छलफलमा छन् । तर, नेताहरूले सिट बाँडफाँटको नटुंग्याउँदै गठबन्धन दलभित्र विद्रोहीको उम्मेदवारी सुरू भएको छ । सिटको बाँडफाँट हुँदा अर्को दलबाट उम्मेदवार हुने अवस्थामा जिल्ला–जिल्लाबाट त्यसको विरोध हुने र विद्रोही उम्मेदवार हुन सक्ने देखिएको छ । खासगरी ठुला दलहरूमा नेताहरूले विद्रोहको चेतावनी दिइरहेका छन् ।
गठबन्धन दलका नेता कार्यकर्ताले आफ्नो क्षेत्र पार्टीको भागमा परे गठबन्धनलाई स्वीकार गर्ने, नभए कतिपय ठाउँबाट विद्रोह गर्ने चेतावनी दिएका छन् । गठबन्धनमा रहेको ठुलो दल नेपाली कांग्रेसमा नेता डा.शेखर कोइराला समूहका नेताहरूले सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गरिरहेका छन् ।
गठबन्धनमा पार्टीले सय सिट लिनुपर्ने र पार्टीभित्रको शक्ति सन्तुलनलाई समेत ध्यानमा राखेर गठबन्धनमा सिटको बाँडफाँट हुनुपर्ने कोइराला समूहका नेताहरूको माग छ । आज ठमेलमा भेला गरेका कोइराला समूहका नेताहरूले समानुपातिकतर्फ उम्मेदवारको बन्द सूचीमा नाम सच्याउनेसहित टिकटको न्यायोचित वितरणका लागि भन्दै आन्दोलनको घोषणा गरेको शेखरपक्षका नेता गुरुराज घिमिरेले बताउनुभयो ।
कांग्रेसमा मात्रै होइन, गठबन्धनको निर्णयविरुद्ध माओवादी केन्द्रमा पनि विद्रोह सुरू भएको छ । गठबन्धनको निर्णय बहिस्कार गर्दै धनकुटामा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य हेमराज भण्डारीसहित पार्टीका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र जिल्ला कमिटीका पदाधिकारीहरूले नै पार्टीबाट राजीनामा दिएका छन् ।
गठबन्धनमा सिट बाँडफाँट हुँदा धनकुटा माओवादी केन्द्रले पाउनुपर्ने, नभए आफूहरूले गठबन्धनको निर्णय अस्वीकार गर्ने नेता भण्डारीले बताउँदै आउनुभएको थियो । कांग्रेसलाई प्रतिनिधि सभाको सिट दिने गठबन्धनमा सहमति भएको सूचना पाएपछि उहाँले राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ ।
धनकुटाजस्तै अन्य क्षेत्रहरू पनि छन्, जहाँ कांग्रेस, माओवादी र जसपासहित दलको दोहोरो–तेहेरो दाबी छ । कतिपय क्षेत्रमा कांग्रेसकै नेताहरूबीच टिकटका लागि प्रतिस्पर्धा छ, नेताहरू आफैँले नपाए विद्रोह गर्ने भन्दै नेताहरूमाथि दबाब सिर्जना गरिरहेका छन् ।
कोइराला समूहले पार्टीको बुझाएको समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्द सूचीमै असन्तुष्टि जनाएको छ । नेता भुपेन्द्रजंग शाहीले १६ गतेभित्र समानुपातिक तर्फको बन्द सूचीको लिस्ट सच्याइएन भने विद्रोहको चेतावनी दिनुभयो ।
त्यसो त कांग्रेसमा संस्थापन पक्षकै नेताहरू समेत टिकटको विषयमा सभापति देउवामाथि दबाब बनाइरहेका छन् । देउवानिकट नेता रमेश लेखकले अहिले पार्टीभित्र विद्रोह गर्ने बेला नभएको बताउँदै पार्टीभित्र सामजस्यता गरेर उचित ढंगले सिट बाँडफाँट गरेर जानु पर्नेमा नेतृत्वतह गम्भीर हुनुपर्ने बताउनुभयो ।
दलहरूभित्रको यो चुनावी झगडाको असर चुनावी तालमेल गर्ने निर्णय गरेका गठबन्धनका अन्य दलहरूलाई समेत पर्ने भएको छ । यस्तो असन्तुष्टिले अन्य दलले टिकट पाएको ठाउँमा विद्रोही कार्यकर्ता चुनावी अभियानमा नखटिने सम्भावना छ । गठबन्धनका दलको मत थपथाप हुँदा चुनाव जित्ने हिसाब–किताब गरेर उम्मेदवार भएका गठबन्धनमा रहेका अरू दलहरूलाई त्यसले प्रत्यक्ष असर गर्नेछ । गठबन्धनमा रहेका दलहरूले आगामी चुनावमा जित हासिल गर्नको लागि दलहरूभित्रको अन्तरकलह साम्य पार्नुपर्ने चुनौती गठबन्धनमा थपिएको छ ।