काठमाडौं । चन्द्रागिरि नागरपालिका वडा नम्बर ९ मच्छेगाउँमा हाटबजार लागेको छ । स्थानीय उत्पादनहरुलाई सहज रुपमा बिक्रीवितरण गर्नका निम्ति हाटबजार लगाइएको वडाध्यक्ष अच्यूत अधिकारीले जानकारी दिनुभयो ।
नगरपालिकाका १५ वटै वडामा कार्यपालिकाको निर्णय गराएर हाटबजार लगाउने निर्णय गरिएको उहाँले बताउनुभयो । अहिले हप्ताको एकदिन शनिबार हाटबजार लाग्ने वडाध्यक्ष अधिकारीको भनाइ छ । हाटबजारमा जो कोहीले पनि आफ्नो उत्पादन लगेर बिक्रिवितरण गर्न पाउनेछन् ।
शनिबार (हिजो) लागेका हाटबजारमा स्थानीयले नर्सरी (बेर्ना), हस्तकलाका सामाग्री बिक्रिवितरण गरेका थिए । अब आउने शनिबार दशैँका लागि चाहिने बोका, खसी, कुखुरालगायत अन्य सामाग्रीहरु पनि बिक्रिमा राखिनेछ ।
स्थानीय सरकारले कृषकको उत्पादनलाई वडामै बिक्रिवितरण गर्न पहल थालेसँगै उनीहरु खुसी भएका छन् । सबै सामाग्री विशेष छुटमा एकै ठाउँमा पाइने भएपछि उपभोक्ता पनि हर्षित छन् ।
वडाले शहरी हाटबजार व्यवस्थापन समिति गठन गरी हाटबजार सञ्चालनमा ल्याएको हो । जसको संयोजकमा वडासदस्य समिन केशी रहनुभएको छ । संयोजक केशीले अब आउने दशैँमा हाटबजारलाई बिस्तार गर्दै व्यवस्थित पारिने बताउनुभयो । स्थानीयलाई आफ्ना उत्पादन हाटबजारमा ल्याएर बिक्रिवितरण गर्न उहाँले आग्रह गर्नुभयो ।