Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आज असोज ३ गते संविधान दिवस, कहीँ उत्सव–कहीँ ब्ल्याक आउट (खास खबर)

आज असोज ३ गते संविधान दिवस, कहीँ उत्सव–कहीँ ब्ल्याक आउट (खास खबर)

  • सोमवार, आश्विन ३ २०७९

  • 591
    SHARES

  • आज असोज ३ गते संविधान दिवस, कहीँ उत्सव–कहीँ ब्ल्याक आउट (खास खबर)
    काठमाडौं । आज असोज ३ संविधान दिवस । २०७२ सालमा जनताको बलिदानबाट जारी भएको संविधानको स्मरणमा यो दिवस मनाइँदै आइएको छ । संविधान जारी भएपनि यसभित्र रहेका प्रावधानबारे मतभिन्नता अझै कायम रहेको छ । संविधान कार्यान्वयनमा जटिलता पनि उत्तिकै छ । 
     
    पछिल्लो समय संघीयतामा मुलुक गएपनि विभिन्न कानुन निर्माण, तीन तहका सरकारको समन्वयलगायतका विषयहरू अझै अस्पष्ट छन् । यो संविधानलाई मधेसमा ‘ब्ल्याक आउट’ र पहाडमा उत्सवको रूपमा लिइँदै आइएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले संविधान जारी भएको दिन ३ असोजमा तराई मधेसका जिल्लामा ‘ब्ल्याक आउट’ गर्दै आएको छ । लोसपाका नेता राजेन्द्र महतोले संविधानले सबैको हकहित नसमेटेको बताउँदै जारी हुँदाका बखत मधेशी जनतामाथि ताकी–ताकी राज्यले गोली बर्साएको आरोप लगाउनुभएको छ ।
     
    संविधानका सबल पक्ष हुँदा–हुँदै केही कमजोर पक्ष पनि रहेको बताउँदै माओवादी नेता देव गुरुङले संघीयता कार्यान्वयन, समानुपातिक प्रतिनिधित्वलगायतका विषयले पूर्णता नपाएको बताउनुभयो । 
     
    एमाले नेता प्रदीप ज्ञवालीले संविधानको कार्यान्वयन सही रुपमा अघि बढेको भएपनि पछिल्लो समय केही राजनीतिक दलहरूका कारण समस्या आइरहेको बताउनुभयो । महत्त्वपूर्ण कानुन निर्माण गरिएको स्मरण गर्दै ज्ञवालीले संघीयताको जग स्थापित भएको बताउनुभयो । 
     
    संविधान कार्यान्वयनको सही बाटोमा गइरहेको बताउँदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह अधिकार सम्पन्न भएको भन्दै खुसी व्यक्त गर्नुभयो । गाउँ–गाउँमा सिंहदरबार पुगेको बताउँदै पौडेलले जनताले दैलोबाटै सेवा पाएको बताउनुभयो । 
     
    प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताले पटक–पटक गरेको आन्दोलनको प्रतिफल संविधान रहेको बताउँदै उहाँले यसले जनताका सबै हक अधिकार सुरक्षित गरेको बताउनुभयो । 
     
    नेपालमा पटक–पटक संविधान परिवर्तन हुने गरेको छ । सबैका व्यक्तिगत चाहना अनुरूप संविधान चलाउन यसको सही कार्यान्वयन हुन सकेको छैन । मुलुक चलाउने दस्ताबेजलाई सबैले पालना गरी हरेक नागरिकको अधिकारलाई मसिनो ढंगले संविधानले व्याख्या गर्न सक्नुपर्दछ । अतः संविधानलाई आवश्यकता अनुसार परिमार्जन गर्दै बृहत्तर हितको पक्षमा लैजानु आवश्यक छ ।


    सोमवार, आश्विन ३ २०७९०८:३०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij