Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

जो बने शिक्षक, पत्रकारहुँदै राष्ट्रपतिसम्म

जो बने शिक्षक, पत्रकारहुँदै राष्ट्रपतिसम्म

  • मंगलवार, भाद्र १६ २०७७

  • 1.1K
    SHARES

  • जो बने शिक्षक, पत्रकारहुँदै राष्ट्रपतिसम्म

    काठमाडौं । भारतका धेरै नागरिकले मन पराउने नेताको सूचीमा अग्रपङ्क्तिमा पर्ने पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधनको खबरले अहिले भारतभरी शोक छाएको छ । अन्य देशका नेताहरुसँग पनि राम्रो सम्वन्ध भएकाले उनको निधनप्रति विश्वभरीबाट दुःख व्यक्त भइरहेको छ ।

    विभिन्न दीर्घरोगका कारण अस्वस्थ्य रहँदै आएका ८४ वर्षीय मुखर्जीलाई कोरोना सङ्क्रमण भएको पनि पुष्टि गरिएको थियो ।

    अस्पतालमा उपचार गरिरहँदा पनि थप गल्दै गएपछि उनी केही दिनदेखि अचेत अवस्थामा रहेका थिए । भेन्टिलेटरमा राखेर उपचार गराइरहेपनि उनको उपचार सफल नभएको उनकै छोरा अभिजितले जानकारी दिएका छन् ।

    उनका बारेमा यसअघि पनि गलत समाचार सार्वजनिक भएपछि परिवारजन र अस्पतालले पटक पटक उनी जीवितै रएको र उपचार भइरहेको स्पष्टीकरण दिनु परेको थियो । अन्ततः लामो राजनीतिक तथा सामाजिक सङ्घर्ष गरेका मुखर्जीले सोमबार सधैँका लागि विश्राम लिएका छन् ।

    उनी भारतको प्रधानमन्त्रीका लागि स्वभाविक दावेदार भए पनि प्रधानमन्त्री हुन नपाएका नेताका रुपमा चिनिन्छन् । सन् १९८४ र सन् २००४ मा उनी प्रधानमन्त्रीका लागि सशक्त दाबेदार देखिएका थिए ।

    भारतीय काँग्रेस पार्टीकी तत्कालिन अध्यक्ष इन्दिरा गान्धीबाट प्रशिक्षित भएकाले पनि उनलाई आफू प्रधानमन्त्री बन्छु भन्ने विश्वास हुँदाहुँदै पनि बन्न पाएका थिएनन् ।

    प्रधानमन्त्री बन्न नपाएको बारेमा उनले कहिल्यै पनि सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त नगरे पनि उनकी छोरी तथा काँग्रेस नेतृ शर्मिष्टा मुखर्जीले आफ्ना बुवा भारतको प्रधानमन्त्री बन्न नपाएकोमा मनमा कता–कता अन्याय अनुभव गरेको बताउने गर्थिन् ।

    उनी सन् २०१२ मा भारतको राष्ट्रपतिमा निर्वाचित भएपछि त झन् यो असन्तुष्टि व्यक्त गर्नु अस्वभाविक नै भएकाले त्यत्तिकै दब्यो । त्यसलाई थप दवाउन राष्ट्रपतिबाट बाहिरिएपछि गत वर्ष उनलाई भारतरत्न सम्मान प्रदान गरिएको थियो ।

    सन् १९३५ को डिसेम्बरमा पश्चिम बङ्गालमा पर्ने मिराटी गाउँको एउटा सामान्य परिवारमा जन्मिएका मुखर्जी काँग्रेस पार्टीका नेता थिए । त्यसैले नै उनी स्वभाविक रुपमा राजनीतिमा हानिए ।

    युवा अवस्थादेखि नै राजनीतिमा सम्लग्न मुखर्जीले इतिहास र राजनीतिशास्त्रमा स्नात्तकोत्तर र कानुनमा स्नातक अध्ययन गरेका थिए ।
    सन् १९६९ मा ३४ वर्षको उमेरमा राज्यसभाको सदस्य बनेका थिए । तर पार्टीबाट ६ वर्ष निलम्बन पनि भोग्नु परेको थियो ।

    त्यसपछि पनि निरन्तर पार्टीमा सक्रिय भएपछि उनी अर्थमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्रीजस्ता महत्वपूर्ण मन्त्रालयको नेतृत्व पनि गरे । भारतको लोकसभाको सभामुखसमेत भएका मुखर्जीले अरु पनि धेरै सरकारी तथा सार्वजनिक जिम्मेवारीमा रहेर काम गरेका थिए ।

    अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको बोर्डमा पनि काम गरेकाले भारतमा उनलाई राम्रो अर्थविद्का रुपमा लिइन्थ्यो । त्यही पृष्ठ भुमिमा उनलाई अर्थमन्त्रालयको जिम्मेवारी प्राप्त भयो । त्यसमा सफल भएपछि थप राजनीतिक यात्रा पनि राम्रो बन्दै गयो ।
    त्योभन्दा धेरै अगाडि उनी भारतमा शिक्षक र पत्रकारका रूपमा पनि सामाजिक क्षेत्रमा क्रियाशिल भएका थिए । उच्च शिक्षा पू गरेसँगै उनले स्थानीय शिक्षालयमा प्राध्यापन गरेका थिए । उनी स्थानीय बङ्गाली भाषामा प्रकाशित हुने पत्रिकाको सम्पादक पनि बनेका थिए ।
    उनलाई भारतमा प्रधानमन्त्री बन्ने बाहेक अन्य पर्याप्त अवसर पाएका नेताका रुपमा लिइन्छ । भद्र, सन्तुलित, समन्वयकारी र बौद्धिक व्यक्तिका रुपमा चिनिने मुखर्जीप्रति धेरै जनताको सकारात्मक धारणा रहँदै आएको थियो ।
    (विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको सहयोगमा, रासस)


    मंगलवार, भाद्र १६ २०७७०२:२८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij