Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसले तोक्यो समानुपातिक उम्मेदवार छान्ने मापदण्ड

कांग्रेसले तोक्यो समानुपातिक उम्मेदवार छान्ने मापदण्ड

  • बुधवार, भाद्र २९ २०७९

  • 1.2K
    SHARES

  • कांग्रेसले तोक्यो समानुपातिक उम्मेदवार छान्ने मापदण्ड
    काठमाडौं ।  नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ । बुधबार(आज) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो । गठबन्धनमा सिट बाँडफाँटको छलफल चलिरहे पनि समानुपातिकतर्फ बन्दसूची बुझाउने म्याद नजिकिँदा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न संसदीय समितिको बैठक बोलाउनुभएको थियो ।
     
    बैठकमा संसदीय समितिमा सदस्य नरहेका नेता शेखर कोइरालासहित केन्द्रीय सदस्यहरूलाई समेत आमन्त्रण गरिएको थियो । बैठकले समानुपातिकतर्फ उम्मेदवार चयनका चार मापदण्ड तोक्ने निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दाबी गर्न पाउने छैनन् ।
     
    त्यस्तै, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरूलाई समेत संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार नबनाउने मापदण्ड तय भएको छ ।
     
    ‘प्रतिनिधिसभामा समानुपातिकबाट सांसद भएको व्यक्ति अब प्रदेशमा गएर पनि फेरि समानुपातिकबाटै सांसद बन्न नपाउने र प्रदेशमा भएको व्यक्ति प्रतिनिधिसभामा आएर समेत बन्न नपाउने गरी मापदण्ड निर्धारण गरिएको छ,’ महामन्त्री थापाले भन्नुभयो ।
     
    त्यस्तै, उच्च नैतिकता, योग्यता, क्षमता भएको र उमेरको सन्तुलनलाई आधार मानेर पार्टीलाई लोकप्रिय मत थप्न सक्ने व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने मापदण्ड बनाइएको छ ।
     
    महामन्त्री थापाले यस पटक एक निर्वाचन क्षेत्रबाट एक उम्मेदवार हुने गरी समानुपातिकतर्फ उम्मेदवार चयन गरिने मापदण्ड तय गरिएको बताउनुभयो ।
     
    आजको बैठकले उम्मेदवार चयनका मापदण्ड मात्रै तय गरेको छ भने उम्मेदवारबारे छलफल गर्न बिहीबार(भोलि) दिउँसो साढे १२ बजे पुनः बैठक बस्ने कांग्रेसले जनाएको छ ।


    बुधवार, भाद्र २९ २०७९०७:१५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij