Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बामदेवलाई केपी ओलीको जवाफः 'राष्ट्रियसभामा लैजाने निर्णय समाप्त भैसक्यो'

बामदेवलाई केपी ओलीको जवाफः 'राष्ट्रियसभामा लैजाने निर्णय समाप्त भैसक्यो'

  • सोमवार, भाद्र १५ २०७७

  • 3.4K
    SHARES

  • बामदेवलाई केपी ओलीको जवाफः 'राष्ट्रियसभामा लैजाने निर्णय समाप्त भैसक्यो'


    काठमाडौँ – सबै खाले विवाद समाधान भइसकेको दाबी गरिएका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा फेरि उथलपुथल मच्चिएको छ। खासगरी अर्थमन्त्री डा. युवराज खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने कि कुनै अर्का नेतालाई अर्थमन्त्रालयको जिम्मेवारी सुम्पने विवादले पार्टीमा फेरि विवाद बढेको हो।

    प्रधानमन्त्री केपी शर्मा ओली युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिन चाहिरहनुभएको छ भने अर्का अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले खतिवडालाई निरन्तरता दिन नहुने दबाब दिइरहनुभएको छ। त्यसैमा उपाध्यक्ष बामदेव गौतमले आफूलाई राष्ट्रियसभामा लैजाने पार्टीको निर्णय कार्यान्वयन गर्न माग गरेपछि नेकपा विवादको नयाँ श्रृङखला सुरु भएको हो।

    गौतमले आफूलाई राष्ट्रिय सभामा मनोनित गर्ने पार्टीको पूर्वनिर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गर्नुभएको छ । पार्टीले गत फागुनमै निर्णय गरिसकेको हुनाले आफू राष्ट्रियसभामा जान तयार रहेको नेता गौतमले बताउनुभएको छ।

    तर प्रधानमन्त्री केपी ओलीले भने पार्टीमा गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय नरहेको दाबी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा प्रधानमन्त्री ओलीले बामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय यसअघि नै समाप्त भइसकेको दाबी गर्नुभयो।

    डा. युवराज खतिवडाको कार्याकाल सकिएका कारण विगत ६ महिनादेखि राष्ट्रिय सभामा एक सीट रिक्त छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने सो सीटमा यसअघि पार्टी सचिवालयले गौतमलाई पठाउने निर्णय गरेको थियो।

    तर प्रधानमन्त्री ओलीले पार्टीको उक्त निर्णय यसअघि नै खारेज भइसकेको बताएपछि गौतम रुष्ट बन्नुभएको छ। रिक्त रहेको उक्त सिटमा अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रियसभामा पुनः लैजाने अडानमा प्रधानमन्त्री ओली रहनुभएको छ। उहाँले अर्थमन्त्री खतिवडाले राम्रो काम गरेको दाबी गर्नुभयो।

    तर उपाध्यक्ष गौतमले भने आफूलाई राष्ट्रिय सभाको सदस्य बनाउने पार्टीको निर्णय यताउता गर्न नपाइने चेतावनी दिनुभएको छ। श्रोतका अनुसार अर्थमन्त्रीमा खतिवडालाई नै निरन्तरता दिने अडान प्रधानमन्त्री ओलीले लिएपछि पार्टीका अर्का अध्यक्ष प्रचण्डले पनि तीव्र असन्तुष्टि पोख्नुभएको छ।

    दाहालले विचार र विधिबारे सोमबार सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्ति पनि त्यसकै उपज रहेको कतिपयको टिप्पणी छ। राजनीतिक विश्लेषक लोकराज बरालले पार्टी भित्रका असन्तुष्टिका रुपमा दाहालको अभिव्यक्तिलाई लिन सकिने बताउनुभयो।

    विवाद समाधानका लागि महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनबारे पार्टीका दुई अध्यक्षले अध्ययन गरेर छलफल गरिसकेका छन् । अब नेकपाको सचिवालय बैठक भदौ १८ गते बोलाइएको छ।

    उक्त बैठकले अर्थमन्त्रीबारे टुंगो लगाउनै पर्ने दबाब किन पनि छ भने खतिवडाको थप भएको ६ महिनाको म्याद भदौ २० गते सकिँदै छ। बामदेव गौतमको आजको अभिव्यक्तिले १८ गतेको सचिवालय बैठकमा नेताहरुबीच चर्काचर्की हुने संकेत गरेको छ।


    सोमवार, भाद्र १५ २०७७०७:४८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij