काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनको पूर्वसन्ध्यामा आफ्नो नाम जोडिएर आएका भ्रामक समाचारप्रति कांग्रेस नेता बलबहादुर केसीले आपत्ति जनाउनुभएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय निर्देशन अनुसार जिल्ला कार्य समिति सोलुखुम्बुको नाममा प्रचारित समाचारले आफ्नो गम्भीर ध्यानाकर्षण भएको केसीको भनाइ छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका नेता केसीले भनेका छन्, ‘प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनको विभिन्न कालखण्डमा केन्द्रीय नेतृत्वदायी भुमिका निर्वाह गर्दै, जननिर्वाचित भएर जिल्ला तथा देशको विकास एवं नीति निर्माणमा उल्लेखनीय, ऐतिहासिक र महत्त्वपूर्ण जिम्मेवारीमा निरन्तरता रहिरहेको तथ्य छर्लङ्गनै छ । म आमाको मृत्युु संस्कारको १३ औं दिने काजकिरियामै रहेको बेला डाईवेटिज, कम रक्तचाप र डेङ्गु संक्रमणको बिरामी भई अस्पतालमै उपचारकै क्रममा रहेको बखत मसँग कुनै सम्पर्कनै नगरी मेरो नाम समेत जोडेर अलोकतान्त्रिक, विधि विधान र केन्द्रीय परिपत्र विपरीत उमेदवारी सिफारिसलाई लिएर सामाजिक सञ्जालहरुमा गरिएको गलत प्रचारप्रति घोर भर्त्सनाका साथ पुर्णरुपले असहमति प्रकट गर्दछु । सोलुखुम्बु जिल्लावासी दिदीबहिनी दाजुभाइ, केन्द्रीय एवं स्थानीय तहका पार्टीका सम्पुर्ण नेता साथीहरूको भावनाको कदर गर्दै, लामो संघर्ष, लाखौँ जनताको योगदान, हजारौं सहिदको बलिदानबाट प्राप्त वर्तमान उपलब्धिको रक्षाका लागि, आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः प्रत्यक्षतर्फबाटनै सहभागी हुने समेत जानकारी गराउदछु । धन्यवाद ।’
जय नेपाल !
बलबहादुर केसी
केन्द्रीय सदस्य,नेपाली कांग्रेस