Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट बच्न पर्याप्त निद्राको ठूलो भूमिका किन? यस्ता छन् डा. पाण्डेका सुझाव

कोरोनाबाट बच्न पर्याप्त निद्राको ठूलो भूमिका किन? यस्ता छन् डा. पाण्डेका सुझाव

  • आइतवार, भाद्र १४ २०७७

  • 2.2K
    SHARES

  • कोरोनाबाट बच्न पर्याप्त निद्राको ठूलो भूमिका किन? यस्ता छन् डा. पाण्डेका सुझाव

    काठमाडौँ – कोरोना संक्रमण लगायतका रोगहरूसँग लड्नका लागि पर्याप्त निद्राको ठूलो भूमिका रहेको जनस्वास्थ्यविद डा. रविन्द्र पाण्डेले बताउनुभएको छ।

    कोरोना संक्रमणविरुद्ध रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुपर्नेमा विज्ञहरुको एकमत रहेका बेला डा. पाण्डेयले रोग प्रतिरोधात्मक क्षमता बढाउन पर्याप्त निद्रालाई महत्व दिन सुझाव दिनुभएको हो।

    रातिको समयमा पर्याप्त सुत्ने व्यक्तिको रोगसँग लड्न सक्ने क्षमता बलियो हुने भएकोले पनि पूर्वीय दर्शनमा निद्रालाई आहारजत्तिकै महत्व दिइएको उहाँको भनाई छ।

    डा. पाण्डेले पर्याप्त निद्रा पुगेको व्यक्ति खुशी हुने र उसमा रोगसँग लड्ने क्षमता पनि वृद्धि हुने भएकोले कोरोनासँग जुध्न निद्रालाई महत्व दिन सुझाव दिनुभयो।

    डा. पाण्डेले रातिमा ७ देखि ९ घण्टा सुत्यौँ भने शरीरमा मेलाटोनिन नामक हर्मोनको उत्पादन राम्रो हुने र त्यसले मानिस खुसी हुनुका साथै रोगसँग लड्ने क्षमता वृद्धि हुने बताउनुभयो।

    उहाँले १४ देखि २५ वर्षको उमेर समूहका व्यक्तिले ८ देखि १० घण्टा, २६ देखि ६४ वर्षका व्यक्तिले ७ देखि ९ घण्टा तथा ६५ वर्ष तथा सो भन्दा माथि उमेरका व्यक्तिले दैनिक ७ देखि ८ घण्टा सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुने बताउनुभयो।

    कतिपय व्यक्तिलाई राति पर्याप्त सुत्ने चाहना हुँदा हुँदै पनि निद्रा नलाग्ने समस्या हुने गरेको छ। पछिल्लो समय कोरोना कहरका कारण उत्पन्न परिस्थितिका कारण पनि मानिसहरुको भोक निद्रा हराएको छ। तर यो बेला चिन्ता लिएर बस्नु भन्दा पनि मनलाई जति सक्दो धेरै आनन्दित बनाउनुपर्ने डा. पाण्डेको सुझाव छ।

    उहाँले रातिको खानामा अमलेट, तथा लौकाको तरकारी खाने गरेमा पनि आनन्दको निद्रा लाग्ने बताउनुभयो। उहाँले जीवनका आनन्ददायक र खुशी तुल्याने क्षणहरुलाई सम्झदै निदाउने प्रयास गरे गुणस्तरको निद्रा लाग्ने सुझाव दिनुभयो।

    यता सरकारले भने कोरोना संक्रमणको जोखिम थप चुनौतीपूर्ण बन्दै गएकोले यसबाट जोगिन सबै नागरिकहरुको सामूहिक प्रयासका लागि अपिल गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एकजुट भएर कोरोनाको सामना गर्न आग्रह गर्नुभयो।

    उहाँले अस्पतालसहित क्वारेन्टिन र आइसोलेसन सेन्टरबाट कोरोना संक्रमितहरु भाग्ने गरेकोले त्यसो नगर्न आग्रह गर्नुभयो। एक जना संक्रमितले तीन हजार व्यक्तिमा संक्रमण सार्न सक्ने खतरा रहने भएकोले संक्रमितहरु आइसोलेसन सेन्टरबाट भाग्नु निकै नै खतरनाक ठहरिने उहाँले बताउनुभयो।

    डा. गौतमले बरु आइसोलेसन सेन्टरमा सुविधा नपुगेको भए त्यसबारे गुनासो गर्न तर भागेर गएर संक्रमणको जोखिमलाई नबढाउन आग्रह गर्नुभयो।

    उहाँले आइसोलेसनमा बस्नु बाध्यात्मक परिस्थिति रहेकोले त्यहाँ घरको जस्तो सुविधा भने पाउन नसकिने कुरा सबैले बुझिदिन आग्रह गर्नुभयो। आइसोलेसन सेन्टरको सुधारका लागि पनि उहाँले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

    विश्वका शक्ति राष्ट्रहरुलाई समेत हायल कायल पारेको कोरोना भाइरसको संक्रमण पछिल्लो समय नेपालमा पनि आक्रामक रुपले फैलिरहेको छ। दैनिक १५ देखि २० जनासम्म मानिसको मृत्यु हुँदै जान थालेका बेला यसको नियन्त्रणका लागि राज्य अलमलमा परेको जस्तो देखिएको छ।

    विज्ञको सुझावको आधारमा कोरोनाविरुद्ध लड्न सरकारले प्रभावकारी कदम चाल्न आवश्यक छ। सरकारले अस्पतालहरुबाट संक्रमितहरु किन भागिरहेका छन् भन्ने कुराको पनि मनन गर्न आवश्यक छ।


    आइतवार, भाद्र १४ २०७७०७:४७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij