काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार(आज) शेयर बजारमा एकल अंकको सामान्य सुधार भएको हो ।
लगातार तीन कारोबार दिनसम्म दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से हिजो भने ३.७६ वृद्धि भएको थियो । आज पनि नेप्से २.१९ अंक (०.११ प्रतिशत) ले वृद्धि भएर १९९५.२१ अंमा बन्द भएको छ ।
नेप्सेमा सामान्य सुधार हुँदा उपसूचकमा भने घटबढ देखिएको छ ।
बैंकिङ, होटेल तथा पर्यटन, हाइड्रोपावर, वित्त कम्पनी र बीमा उपसूचकमा गिरावट हुँदा विकास बैंक, लघुवित्त, उत्पादनमूलक लगायत उपसूचक भने बढेको छ ।
नेप्सेमा सुधार भए पनि कारोबार रकम भने घटेको छ । आज बजारमा २९ लाख १४ हजार ५०५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १ करोड ९५ लाख १७ हजारको कारोबार भएको छ । हिजो १ अर्ब २६ करोड ६६ लाख १९ हजारको कारोबार भएको थियो ।
आज कारोबार भएकामध्ये नेपाल दूरसञ्चार कम्पनीको ९ करोड ५७ लाख ७२ हजारको शेयर किनबेच भएको छ । यस्तै ८८ प्रतिशत हकप्रद शेयर प्रस्ताव गरेको लाइफ इन्स्योरेन्स कर्पोरेसनको ६ करोड ३९ लाख १ हजारको कारोबार भएको छ ।
आज कुल १८६ कम्पनीको शेयर कारोबार भएकोमा ७४ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा १०५ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ । यस्तै ७ कम्पनीको शेयर मूल्य स्थिर छ । जसमध्ये अपरे हेवाखोला जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक ८.४५ प्रतिशतले वृद्धि हुँदा नबिल ब्यालेन्स फण्ड ३ को इकाई मूल्य ५.३२ प्रतिशत र ग्लोबल आईएमई समुन्नति स्किम १ को इकाई मूल्य ३.४९ प्रतिशतले बढेको छ ।
यता वीन नेपाल लघुवित्त कम्पनीको शेयर मूल्य ४.७७ प्रतिशतले गिरावट भएको छ । यस्तै एनआईसी एसिया ग्रोथ फण्डको इकाई मूल्य ४.०३ प्रतिशतले घटेको छ ।