काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा पर्सी (बुधबार) सम्ममा सत्ता गठबन्धनभित्र सीट संख्या टुंगो लाग्ने बताउनुएको छ । पार्टीको उपत्यका विशेष कमिटीको बैठकमा बोल्दै प्रचण्डले तीन स्टेपमा गरेर चुनावी तालमेलको प्रक्रिया टुंगो लगाउने बताउनुभयो ।
‘आज बिहान कांग्रेसका नेता र गठबन्धनका नेताहरुसँग कुरा भएको छ । पर्सीसम्म सीट संख्या टुंग्याउने भन्ने छ । सीट संख्या टुंग्याउने नजिक नजिक पुगेका छौ । अब टुंगो लाग्छ’, प्रचण्डले भन्नुभयो, ‘पहिलो स्टेपमा संख्या टुङ्ग्याउँछौँ । भदौ २० गतेसम्ममा कुन क्षेत्र माओवादी, कुन क्षेत्र कांग्रेसलाई, कुन क्षेत्र एकीकृत समाजवादी, जसपा र जनमोर्चालाई भनेर क्षेत्र र प्रदेश टुङ्ग्याउँछौँ ।’ आगामी भदौ २५ गतेसम्म गठबन्धनका सबै दलले आ–आफ्नो पार्टीको उम्मेदवार फाइनल गर्ने प्रचण्डले दाबी गर्नुभयो । चुनावको तीन स्टेप टुंगो लगाएर चुनावी अभियानमा लाग्ने प्रचण्डले बताउनुभयो ।
उम्मेदवार टुंगो लगाउने विषयमा स्थानीय तहको जस्तो नहुने प्रचण्डले बताउनुभयो। प्रचण्डले प्रदेश र संघमा व्यवस्थित रुपमा उम्मेदवार फाइनल गर्ने बताउनुभयो ।