काठमाडौं । नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले आइतबार(आज) राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा बुझाएका हुन् ।
माओवादी संसदीय दलको बैठकले सरकारमा सहभागी विष्ट र सिंहलाई फिर्ता बोलाएर रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यलाई मन्त्री बनाउने निर्णय गरेको थियो । राजीनामा पत्र बुझे लगत्तै मुख्यमन्त्री शाहीले स्वीकृतसमेत गरिसक्नुभएको छ ।
मन्त्री विष्ट र सिंहको राजीनामापछि माओवादीले मन्त्रीमा सिफारिस गरेका जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका सांसद रातो कामीलाई मुख्यमन्त्री शाहीले सोमबार(भोलि) नियुक्त गर्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका ११ सांसद छन् । उपसभामुख रहेकी पुष्प घर्तीमगरबाहेक कामी र आचार्यले शपथ खाएपछि सबैजना मन्त्री बन्नेछन् । यो अवधिमा माओवादीले छ महिनाका लागि गैरसांसद हुम्लाका कार्चेन लामालाई पनि मन्त्री बनाइसकेको छ ।