काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार(आज) नेप्सेमा ३३ अंकमाथिको गिरावट भएको छ । यस दिन नेप्से सूचक ३३.३६ अंक (१.६५ प्रतिशत) ले घटेर १९८८.२० अंकमा झरेको हो ।
यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ६.०५ अंकले घटेर ३८५.७० अंकमा झरेको नेप्सेले जनाएको छ ।
आज म्युचुअल फन्ड बाहेकमा १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.७४ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक ३.४२ प्रतिशतले, होटेल तथा पर्यटन समूहको उपसूचक २.६३ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक २.५९ अंकले, माइक्रोफाइनान्स समूह २.२५ प्रतिशतले, ट्रेडिङ २.५ प्रतिशत र निर्जीवन बीमा समूह २.०४ प्रतिशतले घटेको छ ।
म्युचुअल फन्डको उपसूचक भने ०.५३ प्रतिशतले बढेको छ । नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने २ अर्ब नाघेको छ । आज बजारमा ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५ करोड ९७ लाख ३७ हजारको कारोबार भएको छ । जसमध्ये अरुण कावेली पावरको १० करोड ३३ लाख ६२ हजारको कारोबार हुँदा शिवम् सिमेन्टको ७ करोड १५ लाख ४१ हजारको कारोबार भएको छ ।
आज नेप्सेमा १८८ कम्पनीको शेयर कारोबार भएकोमा १८२ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ५ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा १ कम्पनीको स्थिर छ ।
आज कारोबार भएकोमध्ये राधी जलविद्युत कम्पनीको शेयर मूल्य ५.९० प्रतिशतले वृद्धि हुँदा आदर्श लघुवित्तको १.९८ प्रतिशत, मैलुङ खोला जलविद्युत कम्पनीको १.३४ प्रतिशतले बढेको छ । त्यस्तै सबैको लघुवित्त युनिलिभर नेपालको शेयर मूल्य पनि सामान्य वृद्धि भएको छ ।
यता रुरु जलविद्युत कम्पनीको शेयर मूल्य १० प्रतिशतले गिरावट हुँदा अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर मूल्य ७.०३ प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य ६.७७ प्रतिशतले गिरावट भएको छ ।