Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नवराज लम्साललाई मदन पुरस्कार र दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बा–श्री सम्मान प्रदान गरिने

नवराज लम्साललाई मदन पुरस्कार र दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बा–श्री सम्मान प्रदान गरिने

  • शनिवार, भाद्र ११ २०७९

  • 843
    SHARES

  • नवराज लम्साललाई मदन पुरस्कार र दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बा–श्री सम्मान प्रदान गरिने

    काठमाडौं । जगदम्बा–श्री सम्मान दुर्गाप्रसाद श्रेष्ठ र मदन पुरस्कार अग्नि महाकाव्यका लागि नवराज लम्साललाई प्रदान गरिने भएको छ।

    शनिबार बसेको मदन पुरस्कार गुठीको बैठकले श्रेष्ठलाई जगदम्बा–श्री सम्मान र अग्नि महाकाव्यका लागि लम्साललाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

    जगदम्बा–श्री सम्मान पाउने साहित्यकार श्रेष्ठ बनारसबाट प्रकाशित हुने उदय पत्रिकाका सम्पादक हुनुहुन्छ। ८२ वर्षीय श्रेष्ठ कथा, कविता, निबन्ध, उपन्यास र समालोचनामा कलम चलाउँदै आउनुभएको छ । २०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २९९ पुस्तकमध्ये निर्णायक मण्डलले अग्निलाई छनोट गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले बताउनुभयो ।

    यसअघि गुठीले पुरस्कारको प्रतिस्पर्धामा रहेका आठ पुस्तकको सूची सार्वजनिक गरेको थियो। जसमा लम्सालको अग्नि‚ दामोदर पुडासैनी ‘किशोर’ को ग्रीष्मको नीलो बतास‚ वसन्त बस्नेतको महाभारा‚ दीपा मेवाहाङ राईको यादको सन्दुक‚ नारायण पौडेलको लिच्छवि लिपि‚ नीलमणि ढुङ्गनाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश‚ सुजित मैनालीको सतीः इतिहास र मीमांसा तथा पद्मसुन्दर जोशीको हिति प्रणाली रहेका थिए।

    गत वर्ष नृत्यशास्त्री भैरवबहादुर थापालाई जगदम्बा–श्री सम्मान प्रदान गरिएको थियो। त्यस्तै, लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह पुस्तकका लागि लेखक भगिराज इङ्नामले मदन पुरस्कार पाउनुभएको थियो ।

    गुठीले २०१३ सालदेखि मदन पुरस्कार र २०४५ सालदेखि जगदम्बा–श्री सम्मान प्रदान गर्दै आएको छ। दुवै पुरस्कारको राशि चार लाख नगदसहित सम्मानपत्र रहेको छ।

    २०१३ सालमा पहिलोपटक हाम्रो लोक संस्कृतिका लागि सत्यमोहन जोशी, जनरल भीमसेन थापाका लागि चित्तरञ्जन नेपाली तथा अधिकविभव स्थिरविद्युत् उत्पादकका लागि बलराम जोशीलाई ‘मदन पुरस्कार’ प्रदान गरिएको थियो।

    त्यस्तै, २०४५ सालमा पहिलो पटक जगदम्बा–श्री सम्मानबाट नारायणगोपाललाई सम्मानित गरिएको थियो।


    शनिवार, भाद्र ११ २०७९०७:१७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij