काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका पूर्व तथा वर्तमान सुरक्षा अधिकारीहरुलाई शितलनिवासमा भेटका लागि बोलाउनुभएको छ ।
बुधबार शितलनिवासमा नेपाली सेनासहित सुरक्षा निकायका अधिकारीहरुलाई बोलाएर उहाँले भेट गर्नुभएको हो । भेटमा के–के कुराकानी भयो भन्ने विस्तृत विवरण आएको छैन । यद्यपि, सुरक्षा सम्बद्ध स्रोतले भण्डारीले सुरक्षाकर्मीहरुलाई ‘धन्यवाद दिएको’ बताएको छ ।
भेटमा शितलनिवासका वर्तमान सुरक्षा प्रमुख नेपाली सेनाका सहायक रथी पवन घिमिरेसहितका उच्च सैन्य अधिकारीहरु पनि सहभागी थिए । नेपाली सेनाको परमाधिपति समेत रहने राष्ट्रपतिको सुरक्षा व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्छ ।
राष्ट्रिय अनुसन्धानमा विभागको एउटा टोली पनि राष्ट्रपति कार्यालयमा खटिन्छ भने बाहिरी सुरक्षामा नेपाल प्रहरीले एकजना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सुरक्षामा टोली खटाउने गर्छ ।
राष्ट्रपति भण्डारी संसदबाट नागरिकता विधेयक जस्ताको तस्तै फर्काइएपछि असन्तुष्ट हुनुहुन्छ। पछिल्लो समय उहाँले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर भेटघाट गरिरहनुभएको छ। संविधानविद्हरुसँगको छलफलमा पनि उहाँले नागरिकता विधेयक जस्ताको तस्तै आएकोप्रति चिन्ता व्यक्ति गर्नुभएको थियो ।
वैवाहिक अंगिकृतको व्यवस्थाबारे पुनर्विचार गर्न भन्दै सरकारले प्रमाणिकरणका लागि पठाएको नागरिकता विधयेक भण्डारीले संसदमा फिर्ता पठाउनुभएको थियो ।