काठमाडौं । काठमाडौं महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउनका लागि पत्र लेखेको छ । महानगरपालिकाले अदालतको भवनको नक्सा पास नभेटिएको जनाउँदै प्रमाण पठाउन निर्देशन दिएको हो । नक्सा पास नभएको पाइए कानुनी रुपमा अगाडि बढ्ने महानगरले जनाएको छ ।
आज न्युरोडमा अनधिकृत रुपमा निर्माण गरिएको सरचना हटाउने क्रममा मेयर बालेन्द्र शाहले नक्सा पास नगरी बनाइएका संरचना हटाउने बताउनुभएको थियो ।
अहिले मेयर बालेन साह दरबारमार्ग पुग्नुभएको छ । महानगरपालिकाले आज बिहानैबाट महानगरपालिका भित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासविना बनाइएका संरचनामा डोजर लगाइरहेको छ । दरबारमार्ग क्षेत्रमा सडकमै दुई लाइनसम्म पार्किङ गरिंदा सडकमा बाक्लो जाम हुने गरेको छ । महागरपालिकाले यसअघि बिहान काठमाडौं मल अगाडिको संरचनामा डोजर लगाएको थियो ।
त्यसपछि खिचापोखरी र रञ्जना गल्लीका व्यापारिक मलमा महानगरपालिकाले डोजर लगाएको थियो । त्यस लगत्तै महानगरले दरबारमार्गमा लन्डन पब र मात्सुरी टोक्यो क्याफेको सामान हटाउन थालेको छ ।