काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार(आज) पनि शेयर बजारमा एकल अंकको गिरावट भएको छ ।
आज बजार परिसूचक नेप्से ७.३८ अंक (०.३५ प्रतिशत) ले गिरावट हुँदा २०५३.१६ अंकमा बन्द भएको हो । यस्तै, आज सेन्सेटिभ परिसूचक १.४७ अंकले घटेर ३९७ अंकमा आइपुगेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।
नेप्सेमा सामान्य गिरावट हुँदा आज कारोबार रकम पनि घटेको छ । हिजो २ अर्ब ४ करोड ७० लाख ९४ हजारको कारोबार भएकोमा आज कारोबार रकम २ अर्बबाट तल झरेको छ ।
नेप्सेमा आज ५२ लाख ३० हजार ७६३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७२ करोड ६२ लाख ८७ हजारको कारोबार भएको छ । जसमध्ये हिमाल दोलखा हाइड्रोपावरको २८ करोड १८ लाख ७१ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ८ करोड ५० लाख ३६ हजारको कारोबार भएको छ ।
दिनभर बजारमा १८७ कम्पनीको शेयर कारोबार भएकोमा १२४ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ४७ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा १६ कम्पनीको शेयर मूल्य भने स्थिर छ ।
आज कारोबार भएका मध्य अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर मूल्य १० प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य ९.९७ प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ ।
त्यस्तै सिटिजन्स म्युचुअल फण्ड १ को इकाइ मूल्य ७.२२ प्रतिशतले बढेको छ । यता एनआईबीएल समृद्धि फण्ड २ को इकाइ मूल्य ६.७५ प्रतिशतले गिरावट भएको छ । यस्तै दोर्दी खोला जलविद्युत् कम्पनी शेयर मूल्य ५.१९ प्रतिशत र श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन कम्पनीको शेयर मूल्य ४.१५ प्रतिशतले गिरावट भएको छ ।