काठमाडौं । साताको पाँचौँ कारोबार दिन बिहीबार(आज) शेयर बजारमा सुधार भएको छ । शेयर बजार परिसूचक नेप्से २७.७२ अंक (१.३६ प्रतिशत) ले वृद्धि भएर २०६८.४२ अंकमा बन्द भएको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.५१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंकले बढेको छ ।
आज कारोबारमा आएका २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता शेयर २ अर्ब ५ करोड ७९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो साढे १ अर्बभन्दा कमको शेयर कारोबार भएको थियो ।
आज नेप्सेका १३ वटै उपसमूहको परिसूचक सकारात्मक देखिएका छन् । जसमध्ये विकास बैंक र वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेका छन् । त्यस्तै, जलविद्युत् र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
आज नेप्से बढेसँगै चार कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा मन्दाकिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक, श्वेतगंगा हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
त्यस्तै, हिमालयन हाइड्रोपावर र बलेफि हाइड्रोपावर शेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ । तर, यता सपोर्ट माइक्रोफाइनान्सको मूल्य ३ प्रतिशतले घटेको छ । आज रिडी हाइड्रोपावर कम्पनीले १० करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।