काठमाडौं । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते तय भएको आम निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिनुभएको छ। सत्तारुढ दलहरुबीच गठबन्धन हुने सहमति बनिसकेको भन्दै सोही अनुसार लागिपर्न देउवाको निर्देशन छ ।
गठबन्धनकै बलमा स्थानीय निर्वाचनमा कांग्रेसले राम्रो नतिजा हात पारेको उल्लेख गर्दै देउवाले अब पार्टीको ध्यान मंसिर ४ तर्फ केन्द्रीत रहेको बताउनुभयो ।
देउवाले पार्टीमा कसैलाई काखा र पाखा नगरिने स्पष्ट गर्दै जनता देशको मालिक भएको सम्झिन जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। एमसीसीबारे व्यापक भ्रम सिर्जना गर्ने काम भएको भन्दै त्यसलाई चिर्ने गरी लागि पर्न पनि जनप्रतिनिधिहरूलाई आग्रह पनि गर्नुभयो ।