काठमाडौं । गणपूरक संख्या नपुगेपछि दोस्रोपटक पनि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
प्रतिनिधि सभाको बैठकमा गणपूरक संख्या नपुग्दा सार्वजनिक ऋण व्यवस्थापनका सन्दर्भमा अर्थ समितिको प्रतिवेदनसहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथिको छलफल गरियोस् भन्ने प्रस्ताव प्रभावित भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले छलफल प्रस्ताव अघि बढाउने क्रममा सांसद प्रेम सुवालले गणपूरक संख्या नपुग्ने भन्दै प्रश्न उठाउनुभएको थियो ।
संविधानको धारा ९४ को व्यवस्था अनुसार संघीय संसद्को कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत गर्न नमिल्ने प्रावधान रहेको छ ।
सांसद सुवालको प्रश्नपछि दोस्रो बैठकको काम कारबाही सुरु गर्न लागेका सभामुख सापकोटाले तीन मिनेटको घण्टी बजाएर सांसदको संख्या यकिन गर्न लगाउनुभएको थियो ।
प्रस्ताव पारित गर्नका लागि ६९ सांसद आवश्यक पर्ने र उपस्थित सांसदहरूको संख्या ६७ मात्रै पुगेपछि बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको हो ।
सांसदहरूको गणपूरक संख्या नपुग्दा कार्यसूचीमा रहेका बाँकी बिजनेस सूचीबाट हटाएर बैठक नै स्थगित गरिएको सभामुख सापकोटाले जनाउनुभएको छ । बैठक प्रारम्भ हुँदा १७९ जना सांसदहरूले हाजिरी गरेका थिए ।