काठमाडौँ – ‘राति सुत्दा राइस कुकरमा चामल बसालेर राख्नु पर्थ्यो । कति बेला लाइन आउँथ्यो कति खेर खाना पाक्थ्यो बिहान हेर्दा लाइन हुँदैनथ्यो । यस्तो बिजोग थियो हाम्रो । आज अकल्पनीय परिवर्तन । देशको सच्चा सपूत कुलमान घिसिङलाई मेरो पूरा जीवन भर समर्थन रहने छ’ सामाजिक अभियन्ता माधव लोहनीले आफ्नो फेसबुक अकाउन्टमा व्यक्त गरेको धारणा हो यो।
हुन पनि धेरै समय भएको छैन नेपालमा १८ घण्टासम्म हुने लोडसेडिङ अन्त्य भएको। नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएसँगै मुलुक लोडसेडिङमुक्त भयो। धेरैले यसलाई चमत्कार भनेका छन् र यो चमत्कारको श्रेय कुलमान घिसिङलाई दिएका छन्।
तीनै कुलमान घिसिङको चार वर्षे कार्यकाल भदौ २९ गते सकिँदैछ। तर आम नागरिकहरु फेरि एकपटक घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएको हेर्न चाहिरहेका छन् र सामाजिक सञ्जालमार्फत सरकारलाई दबाब बढाइरहेका छन्। तर सरकार भने कुलमान घिसिङको पक्षमा देखिएको पाइँदैन।
प्रधानमन्त्री केपी ओली र उर्जामन्त्री वर्षमान पुन नै घिसिङप्रति सकारात्मक नरहेको समाचारहरु सार्वजनिक भइरहेका छन्। प्राप्त समाचारहरुमा उल्लेख भए बमोजिक मुलुक लोडसेडिङमुक्त भएको र विद्युत प्राधिकरणमा भएका सबै सुधारको जस आफैले मात्रै लिन खोजेका कारण घिसिङलाई सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रोपटक नियुक्त गर्ने सम्भावना कम छ।
सामाजिक सञ्जालमार्फत कुलमानका पक्षमा उर्लेको जनलहरलाई पनि सरकारले वास्ता गरेको छैन। केही दिनअघि मन्त्रिपरिषद बैठकले कुलमानलाई दोसो्र कार्यकालका लागि नियुक्त गरेको झुठो विवरण सार्वजनिक भएको थियो।
त्यसको जवाफ दिँदै सरकारका प्रवक्ता समेत रहनुभएका अर्थमन्त्री युवराज खतिवडाले कुलमानलाई सामाजिक सञ्जालले नियुक्त गरेको कुरा सरकारलाई थाहा नहुने बताउनुभयो।
आम नागरिक मात्रै होइन, समाजको उच्च ओहदामा रहेका व्यक्तिहरुले पनि फेरि एकपटक कुलमान घिसिङलार्ई प्राधिकरणको नेतृत्वमा रहन दिनुपर्ने आवाजलाई बुलन्द पारेका छन् । नेपालका कलाकारहरु लगायत सेलिब्रेटीहरुले पनि कुलमानको पक्षमा अभियान नै चलाइरहेका छन् ।
तर लोडसेडिङ अन्त्य गर्ने चमात्कारिक अभियान सफल पार्नुमा कुलमान घिसिङको मात्रै हात नरहेकोले उहाँलाई भगवान नै मान्नुपर्ने कारण नरहेको बताउँनेहरु पनि छन्।
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जनताको अभिमत नै सबै कुराको निर्णायक हो भन्ने कुरा मान्न नसकिने बताउनुभयो। सामाजिक सञ्जालमा चलेको अभियानलाई उहाँले बाइवात अभियानको संज्ञा दिनभयो।
विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक काफ्ले नेपाल लोडसेडिङमुक्त पार्न थालिएको अभियानको जस एउटा व्यक्तिलाई मात्र दिन नहुने बताउनुहुन्छ।
कुलमान घिसिङका कारणले नेपाल लोडसेडिङमुक्त भएको हो भन्ने कुरा मान्न आफू तयार नरहेको उहाँले बताउनुभयो। नेपाल लोडसेडिङमुक्त हुनु विगतदेखिकै निरन्तरको प्रक्रिया र प्रयास रहेको बताउँदै उहाँले कुलमानको पालनामा त्यसले पूर्णता मात्रै पाएको दाबी गर्नुभयो।
इन्भर्टर लगायत विद्युतिय उपकरणका व्यापारीहरु नेपालमा लोडसेडिङ बढाइदिनुप¥यो भन्दै मन्त्रीहरुका क्वार्टरमा करोडौँका बिटा बोकेर पुग्ने गरेका हल्ला पनि बजारमा चल्ने गरेका थिए।
तर कुलमान घिसिङले कुनै दबाब र प्रलोभनमा नपरैकै कारण नेपालमा उज्यालो अभियान सम्भव भएको मान्नेहरु धेरै छन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले घिसिङको कार्यकाल एकपटक थपेमा कसैलाई अन्याय नहुने बताउनुभयो।
पछिल्लो पटक विभिन्न पदहरुमा सरकारले नियुक्त गरेका व्यक्तिहरु विचौलिया र नियुक्ति किन्नेहरु रहेका भन्दै व्यापक आलोचना भइरहेको छ।
ती आलोचनाहरुलाई मत्थर पार्नकै लागि भए पनि कुलमानको कार्यकाल थप्नु सरकारको बुद्धिमानी ठहरिने कतिपयको भनाई छ। तर बालुवाटारको गन्ध राम्रोसँग थाहा पाएकाहरुले भने कुलमानको कार्यकाल थपिने आशा गरेका छैनन्।